Techie IT
×
गृहपृष्ठप्रदेशजंगली च्याउ खाँदा प्युठानमा एकै परिवारका दुईको मृत्यु, तीन जना उपचाररत

जंगली च्याउ खाँदा प्युठानमा एकै परिवारका दुईको मृत्यु, तीन जना उपचाररत


प्यूठान, २ भदौ । जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सबै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरूमध्ये दुई छोराको सोमबार राति उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उनकी श्रीमती ३० वर्षीय लीला घर्ती र छोरा १७ वर्षीय शशी घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।

नौबाहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिए । “च्याउ खाएकै साँझबाट बिरामी परेका रहेछन्” उनले भने “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”
जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सबै सदस्य बिरामी परेका थिए । च्याउ खाएपछि उनीहरूलाई पखाला लागेको भएपनि बाहिर खबर नगरेको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस