तनहुँ, २ भदौ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि व्यास नगरपालिका र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
समुदायस्तरमा संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि निषेधाज्ञा जारी गरेको हो। व्यास नगरपालिकामा एक साता र भानु नगरपालिकामा दुई साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।
जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले निषेधाज्ञा जारी गरेको प्रजिअ आचार्यले बताए। व्यासमा भदौ ७ सम्म र भानुमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संघसंस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक संघसंस्थाले गर्ने सञ्चालन गर्ने कोभिड रोकथाम तथा नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन्।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ। त्यस्तै, राजमार्गमा सञ्चालन हुने सवारीसाधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम सञ्चालन गर्ने, औषधि पसल, खाद्य सामग्रीका पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारीसाधन, कुटनीतिक नियोग र झण्डावाला सवारीसाधन, सरकारी नम्बर प्लेट र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारीसाधनहरु सञ्चालन हुनेछन्।
निषेधाज्ञा अवज्ञा गरे संक्रामक रोग ऐन २०२० दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा पाँच, देवघाट गाउँपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा एक जना समुदायस्तरका व्यक्तिमा कोरोना देखिएको छ।
क्याटेगोरी :
प्रदेश,
गण्डकी प्रदेश,
समाचार,
स्वास्थ्य
ट्याग : #Corona,
#lockdown