Techie IT
×
गृहपृष्ठसमाचारआज रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व मनाइँदै


काठमाण्डौ, १९ साउन । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनै पूर्णिमा मनाउने गरिन्छ ।

आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

यसदिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पशुपतिनाथसहित पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्छ । तर कोरोना महामारीका कारण यस वर्ष धार्मिकस्थल तथा मठ(मन्दिरमा चहलपहल छैन । सरकारले लकडाउन हटाए पनि धार्मिक स्थल अझै खुलाएको छैन ।

आजै राखी बाँध्ने गरिन्छ । तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सु(स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरिएको छ ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खानु शरिरका लागि लाभदायक छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #janai purnima, #जनै पूर्णिमा, #रक्षाबन्धन


तपाईको प्रतिक्रिया दिनुहोस