बारा, १७ साउन । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि बारा जिल्लामा आइतबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । छिमेकी जिल्ला पर्सामा समुदायस्तर तथा बारा जिल्लामा दिन प्रतिदिन कोरोनाको जोखिम बढ्दै गएपछि बारा जिल्लाभरी आइतबार विहान ५ बजे देखि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर उच्च जोखिम सिर्जना हुने देखिएकाले शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाईएको उनले बताए ।
छिमेकी जिल्ला पर्सामा निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका विभिन्न बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोबार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाले २०२८को दफा ६(३) र संक्रमक रोग नियन्त्रण ऐन २०२० दफा २ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।
सो निषेधाज्ञा जारी गरिएको अवधिभर अतिआवश्यक वस्तु बाहेक सवारी साधन र हिँड्डुल गर्न नपाइने व्यवस्था गरिएको छ । पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोरपर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको उनले बताए ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ । यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु विवाह, व्रतवन्ध, भोजभतेर गर्न प्रतिवन्ध लगाइएको छ ।
बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र विक्री गर्न पाउने निर्णय गरेको छ ।
क्याटेगोरी :
समाचार,
मधेस प्रदेश
ट्याग : #breaking,
#Corona,
#निषेधाज्ञा