Techie IT
×
गृहपृष्ठप्रवासमलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएकोप्रति प्रहरीद्वारा अनुसन्धान

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएकोप्रति प्रहरीद्वारा अनुसन्धान


काठमाण्डौ, १७ साउन । मलेसियामा एक जना सुरक्षा गार्डलाई कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको बताएका छन् । राजब अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको हो ।

‘हामीलाई विश्वास छ कि पिट्ने मान्छे पाकिस्तानी नागरिक हो भने कुटाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भनेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताए । कसैलाई यो घटनाको बारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन् ।

घटनाको बारेमा जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हिजो शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो । यस्तै यस विषयमा थप जानकारी भएमा दूतावासमा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

मलेसियामा सुरक्षागार्डका रूपमा नेपाली नागरिक मात्र कार्यरत छन् । अन्य देशका नागरिक सुरक्षा गार्डको रुपमा काम गर्दैनन् ।


क्याटेगोरी : प्रवास, समाचार


प्रतिक्रिया दिनुहोस