कालीकोटमा पहिरोमा पुरिएर एकै घरका ७ जनाको मृत्यु
कालीकोट, १४ साउन । कालीकोट जिल्लामा तीन वटा घटनामा परी दश जनाको मृत्यु भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा सोमबार राति पहिरोले घर पुरेपछि एकै घरका सात जनाको निधन भएको छ ।
स्थानीय गङ्गे बुढाको घर पुरिँदा उनीलगायत सात जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूूचना अधिकृत यक्षराज जोशीले दिएको जानकारी अनुसार गङ्गे बुढाका ११ जना घर परिवारमध्ये सात जनाको पुरिएको अवस्थामा शव निकालिएका छन् ।
घरभित्र पुरिएर मृत्यु हुनेहरूमा घरमुली वर्ष ६५ का गङ्गे बुढा, उनकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रीका बुढा, उनका दुई नाति वर्ष चारका राम बुढा र ढेड वर्षका चरित्र बुढा र छोरी बिमला बुढा रहेका छन् ।
छोरीलाई घाइते अवस्थामा उद्धार गरिएको भए पनि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएपछि एकै घरका सात जनाको मृत्यु भएको हो । गङ्गे बुढाका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन् ।
क्याटेगोरी :
प्रदेश,
कर्णाली प्रदेश,
समाचार
ट्याग : #बाढी,
#बाढी पहिरो