Techie IT
×
गृहपृष्ठप्रदेशरातो मच्छिन्द्रनाथलाई रथारोहण गरिँदै

रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिँदै


काठमाण्डौ, १० साउन । रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिँदैछ ।

सरकारले जारी गरेको सुरक्षा मापदण्डअनुसार सामाजिक दूरीलगायतका नियम पालना गरेर रथारोहण गर्ने तयारी भएको गुठी संस्थान ललितपुरले जनाएको छ । यसअघि गएको बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको थियो ।

तर रथारोहणका लागि अर्को साइत नभएपछि आज नै रथारोहण गर्ने निर्णय भएको हो । आज दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटको साइतमा मूर्तिलाई पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गरिने रातो मच्छिन्द्रनाथका ज्योतिष, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताए ।

गएको वैशाख १२ मा रथारोहण गरिनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रथ निमार्ण गरी नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजन पाटीमा राखिएको छ । आज त्यहीबाट ल्याएर मूर्तिलाई रथमा विराजमान गरिनेछ । यसअघि पनि असार २४ गते रथारोहण स्थगित गरिएको थियो ।

रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ । रथमा सुनका फूल, झ्याल, कौसी, धमा जडान गरिएकोे रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए।

चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने गरिन्छ । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस