आज मध्यरातदेखि लकडाउन हट्यो
सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका छन्।
लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो । बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ ।
स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई यही साउन १५ गतेदेखि होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउन दिने सरकारको निर्णय छ । यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिए ।
यस्तै, पदयात्रा, पर्वतरोहणलगायत क्षेत्रसमेत साउन १५ गतेदेखि नै सञ्चालनमा ल्याउन दिने निर्णय भएको छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot