Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशम्याग्दीमा बाढी : पुल, होटल, बस, ट्याक्टर र स्काभेटर बगायो

म्याग्दीमा बाढी : पुल, होटल, बस, ट्याक्टर र स्काभेटर बगायो


म्याग्दी, ६ साउन । पछिल्लो तीन दिनदेखिको अविरल वर्षाले म्याग्दीको जनजीवन प्रभावित बनेको छ । अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका ६९ वर्षिय बलबहादुर गर्बुजा काभ्रेको ठाडो खोलाले बगाए बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार गर्बुजा बाख्रा लिएर घरतर्फ फर्कने बेलामा खोलाले बगाएर काली गण्डकीमा मिसाएको हो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा बाढी आउँदा पुल, होटलका साथै रोकिराखेको एउटा बस र एउटा स्काभेटर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कालिगण्डकी नदिमा बढेको बहावका कारण अन्नपूर्ण गाउँपालिकाको ३ र ४ जोड्ने गाडपारको झोलुङ्गेपुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी कुँबरले बताए।
त्यस्तै रघुगंगा गाउँपालिका–३ चमेरेमा पार्कीङ गरेर राखेको दुई वटा ट्याक्टर कालिगण्डकी नदिले बगाएको समेत प्रहरीले जनाएको छ । मुस्ताङको दामेदर कुण्ड हुँदै बहने कालगण्डकी मुस्ताङ तर्फबाट पनि बढेर आएको कारण थप क्षति हुन सक्ने हुँदा सम्भावित क्षति हुन सक्ने भएकाले अन्नपूर्ण–२, भुरुङ–तातोपानीमा रहेको तटीय वस्तीका बासिन्दा र सीमा प्रहरीचौकीलाई पनि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरले बताए । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत दानास्थित पर्यटकीय रुप्से झरना पर्दछ ।

गएको असार २५ गते राती बेनी नगरपालिका–९, गलेश्वरस्थित राहुघाटखोलाको बाढी र कटानले बेलिब्रिज पूर्ण रुपमा क्षति पु¥याएपछि १२ दिनदेखि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । विगत केही दिनदेखि परिरहेको लगतारको वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षात्का कारण सफल हुन सकेको छैन ।

यसैबीच अविरल वर्षाकै कारण सोमबारदेखि म्याग्दीखोलामा साविकको भन्दा बहाव बढेको छ । म्याग्दीखोलाले ठूलो मात्रामा काठ, मुढा र दाउरा बगाएर ल्याएको छ । खोलाले काठ र दाउरा बगाएर ल्याएको भए पनि क्षति कुन स्थानमा भएको हो भनेर अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । पश्चिम म्याग्दीको मुना, मुदी तथा गुर्जा लगायतका क्षेत्रमा वर्षात भै रहेको जानकारी आएको भएपनि कुन स्थानमा क्षति पुगेको हो भन्ने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ ।

अत्यधिक वर्षाले गर्दा म्याग्दीखोला, कालीगण्डकी नदी र राहुघाट खोलामा पानीको सतह बढेको डिएसपी कुँबरले बताए । जिल्लाका तीनवटै खोलामा पानीको बहाव बढेको हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #flood, #landslide, #पहिरो, #बाढी पहिरो


प्रतिक्रिया दिनुहोस