Techie IT
×
गृहपृष्ठप्रदेशपक्की पुल बाढीले बगायो

पक्की पुल बाढीले बगायो


बाजुरा, ६ साउन । बाजुरामा गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बुढीगङ्गा नगरपालिका –२ को घट्टे खोलामा रहेको पक्की पुल बगाएको छ । साँफे–मार्तडी सडकअन्तरगत पर्ने ताप्रिसेरास्थित घट्टेको खोलामा रहेको २५ मिटर लामो पक्की पुल बगाएपछि स्थानीयको आवतजावत नै बन्द भएको छ । बाढीले पक्की पुल बगाएपछि स्थानीय घरमा जानसमेत निकै समस्या भएको बुढीगाङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष हिरा थापाले बताए ।

उनले भने, ‘यो पुल वारिपारिमा रहेका झण्डै १२ घरपरिवारले खोलामा पानी खाने र नुहाउने गर्दथे । हिजो राति आएको बाढीले पुल नै बगाएपछि खानेपानीको समेत निकै समस्या भएको छ ।’
‘यो पुल बगाएपछि बल्दे, नडाग, अम्कोट डुग्री, खेतकोट लगायतका स्थानीयलाई पनि आवतजावतमा निकै समस्या परेको छ’ थापाले भने, ‘पुल बगाएपछि यातायातका सवारी साधन त के मानिसलाई पनि खोला तरेर घरमा जान निकै समस्या परेको छ ।’

उनले भने , ‘यसभन्दा पहिला पनि यो खोलामा पुल नहुँदा एक जनाले खोला तर्ने बेला ज्यान गुमाएका थिए ।’ गएराति परेको भारी वर्षाका कारण आएको बाढीले घट्टेखोलाको २५ मिटर पक्की पुल बगाउनुका साथै त्यस वारपारको रहेको झण्डै एक सय रोपनीमा लगाएको धान खेती पनि बिग्रिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताए।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


तपाईको प्रतिक्रिया दिनुहोस