Techie IT
×
गृहपृष्ठसमाचारसुकुम्बासीको घरमा आगो

सुकुम्बासीको घरमा आगो


चितवन । गरीव, सुकुम्वासीले सपना देखेको र अहोरात्र खटेर ल्याएको कम्युनिस्ट सरकार छ अहिले नेपालमा । तिनका पक्षमा कम्युनिस्ट सरकारले के कति ग¥यो र के गर्ने योजना बनाएको छ भन्नेबारेमा छुट्टै छलफल र बहसको आवश्यकता छ । तर, चितवन माडीका सुकुम्वासीका घरमा चितवन राष्ट्रिय निकुञ्जले जे जस्तो हर्कत ग¥यो त्यो भने अपराधजन्य छ । २३ वर्षदेखि छाप्रो बनाएर बसेका चेपाङ समुदायका सुकुम्वासीका घरहरु जलाउने, भत्काउने हर्कत भएको छ ।

वन मन्त्रालयको नेतृत्व शक्ति बस्नेतले गरेका छन् । उनी सर्वहारा वर्गको मुक्तिका लागि भन्दै सशस्त्र सङ्घर्ष गरेर आएका नेता हुन । उनी साविक माओवादीको कोटाबाट मन्त्री भएका हुन । चितवन जिल्ला प्रशासन, स्थानीय तहका सरकार कसैसँग पनि नसोधी वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डन नारायण रुपाखेतीको प्रत्यक्ष निर्देशनमा यस्तो क्रूर अमानवीय कार्य भएको छ । यस्तो अमानवीय हर्कत गर्ने वार्डनलाई कुनै कार्वाही नगरी वन मन्त्रालयको नेतृत्वमा कानमा तेल हालेर बस्दा यो घटनामा कतै वन तथा वातावरण मन्त्री, वन सचिवको समेत त संलग्नता छैन ? प्रश्न उठेको छ । तत्काल यसबारेमा कुनै कार्वाही नगर्ने, नबोल्ने हो भने मन्त्रालयमात्र होइन केपी ओलीको नेतृत्वको सिङ्गो सरकार नै यो घटनामा मुछिनेछ ।

भएको के हो ?

माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलाका चेपाङ समुदायका सुकुम्वासीका घरमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएको छ ।

२०५३ सालदेखि ती सुकुम्बासी त्यहाँ रहदैं आएका थिए । उनीहरुका लत्ताकपडा, भाँडाकुडा, महत्वपूर्ण कागजातका साथै अन्नपात समेत जलाउने, नस्ट गर्ने कार्य भएको छ ।

सुकुम्वासीहरुलाई वैकल्पिक व्यवस्थापन नगरी यस्तो क्रूर र अमानवीय कार्य गरेकोबारेमा प्रमुख जिल्ला अधिकारीलाई सोध्दा यसबारेमा आफूलाई जानकारी नदिएको बताए ।

माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले पनि यस्तो अमानवीय हर्कतको निन्दा गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस