सिराहमा २० जना कोरोनालाई जितेर डिस्चार्ज
तीन पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको
सिरहा । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आईसोलेसनमा उपचाररत २० जना कोरोना संक्रमितहरु आज उपचार पश्चात निको भएर डिस्चार्ज भएका छन् ।
आईसोलेसनमा उपचारत २६ जना मध्ये आज एकै दिन २० जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएको अस्पतालका मेसु डा. सुभाष मण्डलले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टी भएपछि सो अस्पतालको आईसोलेसनमा उपचार भईरहेका मध्ये सिरहाका १९ जना र सप्तरीका एक जनाको पटक पटक गरी तीन पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेसु डा. मण्डलले बताए । निको भएर घर फर्किएकाहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई तथा चिकित्सकहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । अस्पतालको आईसोलेसनमा रहेका ६ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु पनि केही दिनभित्रै उपचार पश्चात घर फर्किने मेसु डा. मण्डलको भनाई छ ।
क्याटेगोरी :
समाचार