Techie IT
×
गृहपृष्ठसमाचारलक्षण बिहिन संक्रमितलाई पनि आइसोलेशन सेन्टरमा राखिने, काठमाडौं उपत्यकामा ३ हजार बेडको आइसोलेशन सेन्टर निर्माण गरिदै

लक्षण बिहिन संक्रमितलाई पनि आइसोलेशन सेन्टरमा राखिने, काठमाडौं उपत्यकामा ३ हजार बेडको आइसोलेशन सेन्टर निर्माण गरिदै


काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लक्षणविहीन कोरोनासंक्रमितलाई आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए ।

काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने भएको छ । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर बनाउने काम अघि बढाइएको छ ।

उपत्यकामा आगामी दिनमा संक्रमणको अवस्था हेरेर आइसोलेशन बेड संख्या तीन हजार पुर्‍याउने योजना रहेको छ । संक्रमित बढ्न सक्ने देखिएपछि कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भन्दै सरकारले आइसोलेशन सेन्टर थप गर्ने भएको हो । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टरमा आवश्यकता परेको खण्डमा जुनसुकै बेला लक्षणविहीन कोरोना संक्रमितलाई राखेर उपचार गर्न सकिन्छ ।

लक्षण भएका कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने छ भने लक्षणविहीन संक्रमितलाई आइसोलेशनमा राखिने छ । मापदण्डअनुसार लक्षणविहीन कोरोना संक्रमित आफ्नो इच्छा अनुसार घरमा बस्न पनि पाउनेछन् ।

हाल काठमाडौं भक्तपुर र ललितपुरमा भेटिएका कोरोना संक्रमितलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल ललितपुर, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार हुँदै आएको छ ।

यसअघि सरकारले कोरोना संक्रमण पोजेटिभ देखिएपनि लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो भने १४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले घर पठाएको थियो । त्यस्तैगरी भारतबाट स्वदेश फर्किएका कतिपय नेपालीलाई १४ दिन क्वारेन्टानमा राखेर आरडिटी परीक्षण मात्र गरेर घर फर्किएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस