Techie IT
×
गृहपृष्ठसमाचारआगामी ३ दिन छिटफुट बर्षाको सम्भावना

आगामी ३ दिन छिटफुट बर्षाको सम्भावना


काठमाडौं, ३१ असार। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन लगातार भारी वर्षा भने नहुने बताएको छ, यद्यपि अहिलेको समयमा मनसुन कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ ।

अहिले पनि प्रदेश नं. १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ । गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएको छ । उक्त ठाउँ भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहन्छ ।

काठमाडौं उपत्यकाका केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार दिउँसो घाम लागेको थियो भने साँझपख पानी परेको थियो । बुधबार बिहान भने बादल लागेको छ ।

यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु भइसकेको छ भने ४७ जना बेपत्ता भएका छन् । त्यस्तै ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस