Techie IT
×
गृहपृष्ठसमाचारजहाँको विद्यालयमा रोल नम्बर १३ नै हुँदैन

जहाँको विद्यालयमा रोल नम्बर १३ नै हुँदैन


अस्मिता क्षेत्री

स्थलगत रिपोर्ट

झट्ट सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ– नेपालको कुनै जिल्ला सदरमुकाममा अवस्थित विद्यालयको कक्षामा रोल नं. १३ नै हुँदैन भन्दा । र, कतिलाई रोचक लागेर कौतुहलले कुत्कुत्याउन थाल्छ । तर, जे होस्– वास्तविकता यही हो । २१औं शताब्दीको भौतिकवादको युगमा यसरी विज्ञानलाई चुनौती दिँदै अध्यात्मवादले अझै जरा गाडिरहेको छ– प्रदेश नं. ५ मा पर्ने गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका–९ देउरालीमा रहेको श्री महेन्द्र नमुना माध्यमिक विद्यालयमा ।

रोल नं. १३ भएका कक्षा ९ का सात जना विद्यार्थीको विभिन्न खालखण्डमा आकस्मिक मृत्यु भएपछि विक्रम सम्वत् २०३२ अर्थात् विगत ४६ वर्षदेखि कक्षा ९ मा रोल नं. १३ राख्ने प्रणाली नै खारेज गरी रोल नं. १२ बाट सिधै १४ पार्न थालिएको विद्यालयका निवर्तमान प्रधानाध्यापक केशरबहादुर थापा बताउँछन् । ‘मलाई थाहा भएसम्म वि.सं. २०२८ मा अर्खले गाउँ पञ्चायत (हाल रेसुङ्गा–४) का ढुण्डिराज भण्डारी, २०३० मा तम्घास बजारकै खेलाडी जुनप्रसाद श्रेष्ठ र २०३२ मा स्थानीय कृष्णप्रसाद पाण्डेको मृत्यु भयो’ थापा भन्छन– ‘अन्य चारजना विद्यार्थीको निधन भए पनि विस्तृत जानकारी लिइएको छैन ।’ रोल नं. १३ हुनेहरू कोही चट्याङमा परेको, कोही रगत बान्ता गरेर तत्कालै ढलेको त कोहीमा कुनै रोग देखा नपरी विद्यालयमा नै मृत्यु भएको बताइन्छ ।

रोल नं. १३ भएका विद्यार्थीको अकालमा मृत्यु हुने भय बढ्दै गएपछि पाण्डेको निधनलगत्तै कक्षा ९ मा रोल नं. १३ राख्ने प्रक्रिया नै रद्द गरियो । यस्तै भण्डारीको नाममा त अक्षयकोष नै खडा गरिएको छ । घटना भएको यति लामो समय बितिसक्दा पनि किन त्यही पुरानै अन्धविश्वासले डेरा जमाइरहेको त ? थापा स्पष्ट पार्छन– ‘हामीले विश्वास नगरेर के गर्ने ? विद्यालयको प्राङ्गणमै थलथले जमिन छ । त्यहाँ पानी उम्लिरहन्छ । मानिसले टेक्यो भने पनि पूरै गाडिन्छ । स्थानीयवासीले त्यसलाई चिदीको देवता भनी हाल मन्दिर बनाएर पुजिरहेका छन् । रोल नं. १३ लिन कुनै विद्यार्थी तयार हुँदैनन्, डराउँछन् । यस्तोमा हामीले पनि कर गर्ने विषय उठ्दैन ।’

उसो त हाल एक हजार दुई सय २५ विद्यार्थी र ६० जना शिक्षक रहनुभएको सो विद्यालयको अन्य कक्षामा प्रक्रियागत रूपमा रोल नं. १३ ले सुरुदेखि नै निरन्तरता पाइरहेको छ । नजिकै रहेका अन्य निजी तथा सरकारी विद्यालय र कलेजमा समेत रोल नं. १३ कसैका लागि अभिशाप बनेको छैन । महेन्द्र माविबाट पाँच मिनेट टाढा रेसुङ्गा र सिद्धबाबा क्याम्पस छन् भने ७/८ मिनेटको अन्तरमा १० कक्षासम्म अध्ययन हुने रिडर्स बोर्डिङ स्कुल अनि १२ कक्षासम्म सञ्चालित अर्जुन बोर्डिङ स्कुल छन् । यसैगरी त्यति नै फरकमा गण्डकी बोर्डिङ तथा आदर्श विद्याश्रम पनि छन् । त्यसको केही टाढा भने उपल्लो तम्घास र बुद्ध मावि पनि स्थापना भएको छ । यद्यपि त्यहाँ महेन्द्र माविको ‘चिदी देवता’को हावाले पनि छुन सकेको छैन ।

हुन पनि महेन्द्र माविको इतिहास आफैंमा निकै चाखलाग्दो छ । स्थानीय पाकाहरूका अनुसार २००९ मा तम्घासको लक्ष्मीपुर गाउँ पञ्चायत–१ (हालको रेसुङ्गा–१) चिदिचौमा १ देखि ८ कक्षासम्म सञ्चालन हुने श्री लक्ष्मीपुर मिडिल स्कुल स्थापना भएको हो । वि.सं. २०१६ मा राजा महेन्द्र देश भ्रमणमा रहँदा त्यही स्कुलमा बास बसेको पाका व्यक्तिको भनाइ छ । ‘त्यतिबेला जनता, बडाहाकिम सबैले माग गरेबमोजिम महेन्द्रबाट हाइस्कुल बनाउन हुकुम बक्स भयो’ स्थानीय चन्द्रबहादुर बस्नेत भन्छन– ‘अनि महेन्द्रसँगै बसेको टोलीले विद्यालयको नाम पनि फेरेर श्री महेन्द्र हाइस्कुल बनाइदियो ।’

हाइस्कुलमा परिणत भएपछि सो विद्यालयको पहिलो ब्याचका विद्यार्थीले २०२० मा पाल्पाको सदरमुकाम तानसेन परीक्षा केन्द्रमा आएर एसएलसी दिए । यो क्रम २०२४ सम्म चल्यो । त्यसपछि विद्यार्थीको चाप क्रमशः बढ्न थाल्यो, भवनको अभाव भयो । अनि १० मिनेट टाढाको हाल रेसुङ्गा मावि बनेको स्थान उदिनढुंगामा भवन निर्माण गरी १–५ कक्षाका विद्यार्थीलाई सारियो । महेन्द्रमा ६ देखि १० कक्षासम्म सञ्चालन गरियो । यसपछि वि.सं. २०३५ मा नयाँ शिक्षा लागू भयो । यससँगै विद्यालयको नामसमेत श्री महेन्द्र नमुना व्यावसायिक माविमा परिमार्जन गरियो ।

प्रसंग २०४० को हो– विद्यालय पुनः श्री महेन्द्र माविमा परिणत भयो । र, २०५७ मा आइपुग्दा विज्ञान संकायमा ‘प्लस टु’ थपिएसँगै श्री महेन्द्र उच्च माविमा रूपान्तरण भयो । सोही वर्ष कक्षा ६ मा अनिवार्य अंग्रेजी माध्यम बनाइयो । त्यो ब्याचले २०६१ मा एसएलसी दियो, जुन शत प्रतिशत पास भयो । २०६१ मा त कक्षा १० सम्म नै अनिवार्य अंग्रेजी माध्यम भयो । त्यसपछि त्यो नीति १–५ कक्षामा पनि लागू गरियो । ‘यो प्रयास लुम्बिनी अञ्चलकै हकमा पहिलो हो’ थापा दावी गर्छन– ‘हाम्रो यस्तो कदमबाट नजिककाले पनि अनुशरण गर्न मौका पाए ।’

त्यसो त थापाले महेन्द्रमा नियुक्ति पाएको २०४० मा हो । तथापि उनको कार्यक्षेत्र छिमेकी जिल्ला अर्घाखाँचीको श्री महेन्द्र विद्याबोध मावि, बल्कोट प¥यो । २०४५ मा भने उहाँ अंग्रेजी विषयको अध्यापकको हैसियतमा पुनः तम्घासको महेन्द्रमा नै फिर्ता भए । र, २०६५ वैशाख १ बाट निमित्त र असोज ९ गतेबाट प्रअमा नियुक्त भए । थापा भन्छन– ‘२०७४ असार २५ बाट महेन्द्र नमुना विद्यालय बन्न योग्य भएको छनोट गरियो । २०७५–७९ को पञ्चवर्षीय गुरुयोजना र एक वर्षीय कार्ययोजना बनाएर शिक्षा मन्त्रालयको सहमतिमा स्थानीय सरकारबाट स्वीकृत लिई कार्यान्वयन त भयो तर त्यसको केही समय बित्न नपाउँदै नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा बन्दाबन्दी घोषणा हुँदा समग्र शिक्षा क्षेत्र प्रभावित बन्यो ।’ समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस