Techie IT
×
गृहपृष्ठसमाचारस्वास्थ्य जीवनशैली : जति धेरै सुतिन्छ, उति धेरै बाँचिन्छ !

स्वास्थ्य जीवनशैली : जति धेरै सुतिन्छ, उति धेरै बाँचिन्छ !


निद्रा मानिसको स्वास्थ्यमा सबैभन्दा प्यारो लाग्ने शब्द हो । यो शब्द सुन्दासाथ त्यसभित्रको आनन्दलाई सम्झिनु पर्छ । एकदुई घन्टामात्रै भए पनि निद्रा कम हुँदा मानिसमा विभिन्न प्रकारका समस्या देखिन थाल्छन् । आलस्य र थकानको मुख्य कारण अनिन्द्रा भएको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार एक दुई पटक निद्राको समय थोरै तलमाथि हुँदा शरीरमा खासै असर गर्दैन । तर, निरन्तर निद्रा तलमाथि भएमा भने शरीरमा गम्भीर नोक्सानी हुने गर्छ । चिकित्सक र मनोवैज्ञानिकहरुले सुत्ने र उठ्न समय निश्चित निर्धारण गरेर फलो गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

अनिद्राको समस्या हुने व्यक्तिले विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ । अनिद्राको सिधा सम्बन्ध उच्च रक्तचाप, हृदयघात, स्ट्रोकजस्ता स्वास्थ्य समस्यासँग पर्ने गर्छ । डिप्रेसनको शिकार निम्त्याउने कारणमा पनि अनिद्रा पर्ने गरेको छ । रातको समयमा एक घन्टामात्रै निद्रामा समस्या आएमा त्यसको असर विहान वा दिउँसोसम्म नै पर्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ । मानिसको आयुलाई निद्रासँग जोडेर हेर्ने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ जर्नल एल्सवियरले निद्रा सम्बन्धी सार्वजनिक गरेको एक अनुसन्धानात्मक प्रतिवेदन अनुसार अनिद्रा हुने व्यक्ति जीवनबाटै दिक्क भएर आत्महत्याको बाटोमा जाने गरेको पाइएको छ । अनुसन्धानकर्ताले रातको समयमा सातदेखि आठ घन्टा ननिदाउने व्यक्तिमा जीवनबाट दिक्क लागेर आत्महत्या गर्नेजस्तो विचार मनमा राख्ने गरेको पाइएको बताएका छन् । चिनियाँ अनुसन्धान झण्डै ४२ हजार व्यक्तिमा गरिएको थियो । निद्रा सम्बन्धी यो रिपोर्ट हालैमात्र सार्वजनिक गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अध्ययनअनुसार नियमित समयभन्दा एक घन्टामात्रै भए पनि सुत्न ढिलो भएमा वा निद्रा एक घन्टा नपुगेमा भविष्यमा हट एट्याक हुने सम्भावना २४ प्रतिशत धेरै हुन्छ । चिनियाँ अनुसन्धानले मात्रै नभएर संसारका विभिन्न देशमा गरिएका अध्ययनले पनि निद्रा र मानिसको स्वास्थ्यसँगको सम्बन्धलाई बलियोसँग नियालेका छन् । ओपन हर्ट जर्नलका अनुसार पनि प्रतिदिन निद्राको टाइमिङ फरक हुँदा हृदयघातको सम्भावना धेरै हुने जनाएको छ ।

जामा जर्नलले पनि दिनमा जम्मा चार घन्टामात्रै सुत्ने व्यक्ति आफ्नो सामान्य उमेरभन्दा १० वर्ष धेरै बूढो देखिने जनाएको छ । जर्नलमा २४ घन्टामा केवल चार घन्टामात्रै सुत्ने व्यक्ति छिटो बूढो हुने देखिएको उल्लेख गरिएको छ । अनिद्राले बुढ्यौलीको समस्या निम्ताउने गरेको अध्ययन प्रतिवेदनमा लेखिएको छ । सेन्ट फर ह्युमन स्लिप साइन्सले दैनिक छ घन्टामात्रै सुत्ने व्यक्तिलाई अल्जाइमर रोग लाग्ने चेतावनी दिएको छ ।

जर्नल स्लिप हेल्थले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको निद्रा राम्रो हुनुपर्ने निष्कर्ष निकालेको छ । कोरोनाको खोप लिएका व्यक्तिको निद्रा राम्रो नभएमा एन्टिबडी उत्पादन शक्ति ५० प्रतिशतले ह्रास आउने अध्ययनमा उल्लेख गरिएको छ । नेसनल लाइब्रेरी अफ मेडिसिनको रिसर्चले कम सुत्ने व्यक्तिको इम्युनिटी शक्ति तीन गुणा कम हुने निष्कर्ष निकालेको छ । त्यसैले कोरोना संक्रमणको समयमा हामीले निद्रालाई ध्यान दिनुपर्ने हुन्छ ।

निद्रा विशेषज्ञ म्याथ्यु वाकरले लामो र स्वस्थ जीवन चाहने व्यक्तिले मिठो निद्रामा समय खर्चिनुपर्नेमा जोड दिएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोविज्ञानका प्राध्यापक वाकरले लाखौँ मानिसको तथ्याङ्कका आधारमा आफूले यो विषयको जानकारी गराएका बताएका छन् । उनले ५० वर्षसम्मको अध्ययन र अनुसन्धानले निद्राले मानिसलाई के गर्छ भन्ने नभएर निद्राले फाइदा नगर्ने केही छ कि भनेर अध्ययनलाई जोड दिएको बताएका छन् ।

अहिलेसम्मको अध्ययन अनुसार निद्राले फाइदा नगर्ने कुरा पत्ता लाग्न सकेको छैन । स्वास्थ्य विज्ञानले निद्रा नभएको अवस्थामा शरीर र मस्तिष्कमा नराम्रो असर गर्ने पुष्टि गरेको छ । मानिसको ज्यान लिने कारणमा पर्ने अल्जाइमर्स, क्यान्सर, मुटुरोग र धमनी सम्बन्धी समस्या, मोटोपना, डिप्रेसन, चिन्ता र आत्महत्या जस्ता स्वास्थ्य समस्यासँग निद्रा जोडिएको पाइएको छ ।

निद्राले मानिसको शरीरका सबै प्रणालीको नवीकरण गर्छ । तर, निद्रा प्राकृतिक हुनुपर्छ । निद्राको औषधिले क्यान्सर र मृत्युको सम्भावनालाई बढाउँछ । त्यसैले निद्रा हाम्रो स्वास्थ्यको सबैभन्दा प्रमुख अंगजस्तै बनेको छ । देशको अवस्थाका आधारमा मानिसको निद्राको बानी पनि फरक फरक पाइएको छ । विकसित मुलुकमा मानिसहरु कम सुत्न थालेका छन् । तर, मानिसलाई दैनिक सातदेखि नौ घन्टासम्म निद्रा आवश्यक पर्छ ।

निद्रा शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै नभएर रचनात्मक र सिर्जनशीलताका लागि पनि महत्वपूर्ण हुने गर्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढावा दिनका लागि सात घन्टा सुत्नै पर्ने विभिन्न अध्ययनले देखाएको छ । धेरै सुत्नु पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । प्रविधिको विकाससँगै मानिस सुत्ने समय थोरै हुँदै गएको छ । कृत्रिम उज्यालोका कारण मानिसको निद्रामा प्रत्यक्ष असर परिरहेको छ । खासगरी निलो प्रकाशले मानिसको निद्रालाई गम्भीर असर गर्ने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । प्राध्यापक वाकरले हामी किन सुत्छौँ भन्ने पुस्तक प्रकाशन गरेरै निद्राको महत्व र सुत्ने तरिकामा परिवर्तन ल्याउन गर्नुपर्ने कामका विषयमा महत्वपूर्ण सुझाव दिएका छन् । उनका अनुसार सुत्ने र उठ्ने समय नियमित बनाउनु निद्राका लागि महत्वपूर्ण हुन्छ । एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । नियमिताले शरीरलाई एउटै समयमा राम्रो निद्राका लागि सहयोग गर्छ ।

सुत्ने समयभन्दा पहिल्यै निलो प्रकाशका स्रोतहरु बन्द गर्नुपर्छ । निद्राका लागि आवश्यक हर्मोनका लागि शरीरले अध्यारो खोज्ने भएकाले सकभर सुत्नेभन्दा पहिलेदेखि नै कम उज्यालोमा बस्नुपर्छ । मोबाइल, टिभी, कम्प्युटरलगायतका स्क्रिनको निलो प्रकाशबाट बच्नुपर्छ । राम्रो सुत्नका लागि प्रकाशको जस्तै तापक्रमको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले कोठाको तापक्रम धेरै छ भने कम गर्नुपर्छ । कम तापक्रममा निद्रा पर्न सजिलो हुन्छ । तापक्रम घट्दा निद्रा पर्ने भएकाले पहिलेको तुलनामा सुत्ने बेलामा कम तापक्रममा सुत्नुपर्छ । २४ घन्टामा एउटै तापक्रममा बस्ने आजभोलिको बानीमा हामीले परिवर्तन ल्याउन आवश्यक देखिन्छ । निद्राका लागि हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झण्डै एक डिग्री सेल्सियस घट्न आवश्यक हुन्छ । तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा तपाइँ १८ डिग्री सेल्सियसमा सुत्दा राम्रो हुने अनुसन्धानले देखाएको छ ।

राम्रो निद्राका लागि प्राध्यापक वाकरले ओछ्यान सुत्नका लागि मात्रै प्रयोग गर्न सुझाव दिएका छन् । सुत्ने ठाउँ र अन्य क्रियाकलापका लागि फरक फरक स्थानको पहिचान गर्नुपर्नेमा उनले जोड दिएका छन् । खाना खान, पढ्न र खेल्नका लागि ओछ्यान प्रयोग नगर्न उनको सुझाव छ ।

ओछ्यानमा २० मिनेटसम्म निदाउन नसकेमा केहीबेर उठेर हिँड्ने गर्नुपर्छ । अन्य केही काम गरेपछि फेरि निद्रा लाग्ने र सुत्न सजिलो हुने गरेको अनुसन्धानको निष्कर्ष छ । राम्रो निद्राका लागि कफीलगायतका क्याफिन हुने पदार्थको सेवन कम गर्नुपर्ने हुन्छ । कोकाकोला, कफी, चिया वा अन्य क्याफिन र थिनजस्ता तत्व पाइने पेय पदार्थको सेवनले हाम्रो स्नायु प्रणालीमा प्रभाव पार्छ ।

विशेषज्ञले सुत्नुभन्दा केही घन्टा अगाडि मात्रै कफी पिउन सुझाव दिएका छन् । वाकरले भने १२ घन्टा भन्दा धेरै समय अघि मात्रै कफि पिउन सुझाव दिएका छन् । कफीको असर झण्डै नौ घन्टासम्म कायम रहने भएकाले सुत्ने बेलामा रगतमा कफीको मात्र बाँकी नभएकै राम्रो हुने उनको सुझाव छ । अनुसन्धानमा निद्राका लागि रक्सी सेवनलाई अत्यन्तै हानिकारक भनिएको छ । त्यसैले मानिसले मदिरा पिएर लागेको निद्राले स्वास्थ्यलाई राम्रो नगर्ने निष्कर्ष अनुसन्धानकर्ताको छ ।
(एजेन्सीको सहयोगमा तयार सामग्री) समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस