काठमाण्डौ उपत्यकामा भारी बर्षा, नदी खोलामा पनि पानीको सतह बढ्यो

काठमाण्डौ । काठमाडौं उपत्यकामा भारी बर्षाको कारणले बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोवीखोला लगायतका खोलाहरु उर्लिएका छन् ।
शुक्रबार साँझ देखि नै काठमाण्डौ उपत्यका लगायत देशका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।
त्यसैगरी, काठमाण्डौको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाण्डौका विभिन्न नदी र खोलाहरुको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आव्हान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहावमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आव्हान समेत गरेको छ ।
यसैबीच मध्यान्हपछि भने काठमाण्डौमा वर्षा हुने क्रम रोकिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया