Techie IT
×
गृहपृष्ठसमाचारकेएमसीको यो अभियान उदाहरणीय र प्रेरक

केएमसीको यो अभियान उदाहरणीय र प्रेरक


प्राकृतिक सिद्धान्त नै हो, दुई हात मिलेपछि ताली बज्ने गर्छ, दुई कदम मिलेपछि कदम अघि बढ्छ । दुई असल मन, विचार र कर्मका दुई फरक संस्थाको एकता र सहकार्यले अहिले हजारौं पीडित र अनाथहरुलाई निःशुल्क स्वास्थोपचारको सानो तर लामो मार्ग खोलिएको छ । अब यो अभियान देशव्यापी सबैतिर राजमार्गकै रुपमा विस्तार हुँदा पीडितहरुले निःशुल्क र सहज स्वास्थ्य उपचारको हक आफ्नो जीवन दैनिकीमा नै उपभोग गर्न पाउनेछन ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले अब दशौं हजार यौनकर्मी, एचआईभी पीडित तथा अनाथ बालबालिकाको निशुल्क स्वास्थ्योपचार गर्ने भएसँगै यो उज्यालो यात्राको आरम्भ भएको हो । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआईभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको हो ।

पछिल्ला दिनमा पूर्वबाट उदाएका महत्वाकाङ्क्षी, साहसी र कामकाजी मेडिकल उद्यमी सुनिल शर्माले थालेको यो अभियानले नेपालमा पीडितहरुको पहुँचमा स्वास्थ्य अधिकार स्थापित गर्ने अभियानको श्रीगणेश मात्र गरेको छैन, संविधानले मौलिक हकको रुपमा स्थापित गरेको स्वास्थ्य अधिकारलाई कम्तिमा लक्षित पीडित वर्गका एक समूहसम्म जोड्ने काम गरेको छ । मुलतः राज्य तहबाट हुनुपर्ने यो अभियानको सुरुवात एक निजी अस्पतालले आफ्नै बलबुतामा सुरु गरेको छ । यसलाई सुनिल शर्माको निजी पौरखमा राज्यले गौरव गर्ने एउटा सुरुवाती कोशेढुंगा भन्दा अतिशयोक्ति हुने छैन ।

घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच हालै निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि दशौं हजार यौनकर्मी, हजारौं एचआईभी पीडित तथा अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्योपचारको बाटो खुलेको हो ।

‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआईभी पीडित तथा सयौं अनाथहरुको निःशुल्क उपचार गर्नेछ ।’ यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भनेका छन् । सुरुवातमा माइती नेपाल आवद्धहरुका लागि केएमसीको सेवा लक्षित भए पनि यसलाई थप विस्तार गर्नु चाहिं अबको उसको दायित्व पनि हुनेछ । विहानले दिनको संकेत गर्छ भने झैं अब केएमसीको यो अभियानलाई सबैतिर बिस्तार गर्न सके थप उदाहरणीय र प्रेरक बन्नेछ ।

सम्झौता अनुसार काठमाडौं मेडिकल कलेजले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ । केएमसीले औषधि वाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पु¥याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआईभी पीडित र अनाथ बालबालिकाको उपचारमा टेवा पुग्ने विश्वास लिएको बताए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुनस्र्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन । राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआईभी पीडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास कोइरालाको छ ।

पछिल्लो समय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिला तथा बालबालिकाका क्षेत्रमा गरेको काम र समाजसेवी डा. सुनिल शर्माले सामाजिक कामसँगै मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मदर टेरेसाको उदाहरणका रुपमा लिने गरेका छन् ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदैछ भने नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ ।

स्मरणीय छ, काठमाडौं मेडिकल कलेजले कोरोना विरुद्ध लड्न नेपाल सरकारसँगको सहकार्यमा निःशुल्क उपचारको व्यवस्था गरेको छ । यसका अलावा डा. शर्माको प्रवेशसँगै केएमसीमा ओपीडी सेवा समेत निःशुल्क गरिएको छ ।

उसो त राम्रो कामको थालनी जसले गर्दा पनि हुन्छ । सुनिल शर्माले निजी पौरखमा थालेको यो अभियान मुलतः राज्यले आरम्भ गर्नुपर्ने हो । अपवाद नै मान्नुपर्छ हामीकहाँ राज्य अघि अघि र निजी क्षेत्र पछि पछि लाग्ने अभ्यास नै छैन । उल्टो निजी क्षेत्र अघि अघि भएको उदाहरण त सुनिल शर्माको यो अभियान नै भइहाल्यो । अबको खाँचो राज्यले केएमसीको यो मोडललाई मानक मानेर केही न केही सिक्नुपर्छ । संविधानमा लेखेर मात्र स्वास्थ्य जनताको मौलिक अधिकारका रुपमा स्थापित हुन्न भन्ने ताजा उदाहरण कोरोना माहामारीमा नागरिकले पाएको हैरानी र भद्रगोल स्वास्थ्य उपचार पद्दतिका तमाम विकृतिको ताजा र भयावह अवस्थाले प्रमाणित गरी नै सकेको छ । त्यसैले राज्यको कर्मलाई आफ्नो धर्म सम्झने सुनिल शर्माको सोंच र केएमसीको थालनीलाई सबैले साधुवाद र शुभकामना भन्नैपर्छ ! पर्दैन र ?


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस