Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपोखरा–सराङकोट केबलकार निर्माण

पोखरा–सराङकोट केबलकार निर्माण


पोखरा, १२ असार । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ्रे हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ ।

कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए । गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ ।

त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ । हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ ।

प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछ । एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताए ।

करिब ७५ रोपनी क्षेत्रफल ओगटेको परियोजनाको तल्लो तथा माथिल्लो स्टेसन कङ्क्रिट संरचनामा निर्माण भएको छ भने दुवै स्टेसन भवनमा रेस्टुरेन्ट, पार्किङ, गार्डेन, टिकट काउन्टर, शौचालयलगायतका भौतिक संरचना समेत निर्माण भइसकेका छन् ।

परियोजना करिब डेढ वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखेको भए पनि सम्पन्न हुन भने चार वर्षभन्दा बढी समय लागेको हो । केबलकारको स्टेसन भवनको संरचना बनावटमा परिवर्तन हुनु, जग्गा विवाद, कहिले प्राविधिक दक्ष कर्मचारी र कहिले बोल्ट हराउनेलगायतका समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको त्रिपाठीले स्पष्ट पारे ।

तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा परियोजनाको लागत दोब्बर बढेको छ । सुरुमा अनुमानित लागत करिब ९० करोड रुपियाँ भनिए पनि परियोजना सम्पन्न हुँदा करिब दुई अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको निर्देशक त्रिपाठीले बताए।

परियोजनामा युवा व्यवसायी कालु गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, जापानी नागरिक स्वर्गीय टाकासी मियाहारा सोगो काईआयु क.लि. को १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको कम्पनीले जनाएको छ । परियोजनामा राष्ट्रिय वाणिज्य बैङ्क, सनराइज बैङ्क, नेपाल बङ्गलादेश बैङ्कको सहयोग रहेको कम्पनीका अध्यक्ष कालु गुरुङ बताउँछन् ।

केबलकारको निर्माण चितवन कोई समूहले गरेको हो । हाल नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकार जस्तै भए पनि यो केबलकारमा नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङको भनाइ छ । गोरखापत्रबाट


क्याटेगोरी : पर्यटन, समाचार, गण्डकी प्रदेश
ट्याग : #cablecar


तपाईको प्रतिक्रिया दिनुहोस