सिन्धुली, ११ असार । सिन्धुली जिल्लामा यो बर्ष तीन ठाँउमा जुनारको चक्लाबन्दी खेती बिस्तार गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको आर्थिक सहयोगमा गोलन्जोर गाँउपालिका वडा नं. ३ को भदौरेवडा नं. ४ को तीनकन्या र वडा नं. ५ को चिसापानीमा गरी ३० हेक्टर जमिनमा उक्त चक्लाबन्दी खेती बिस्तार गरिएको हो । जुनार सुपर जोनका अनुसार जिल्लामा गत बर्षदेखि जुनारको चक्लाबन्दी खेती सुरु गरिएको थियो ।
‘तीनै ठाँउमा छ हजारका दरले जुनारका बिरुवा लगाईएको छ,’ परियोजनाका प्राविधिक लक्ष्मी पोख्रेलले भने ‘एक ठाँउमा १० हेक्टरका दरले तीन ठाँउमा गरी ३० हेक्टरमा जुनारको चक्लाबन्दि खेती बिस्तार गरिएको छ ।’ खाली रहेको जमिनमा जुनारको चक्लाबन्दी खेती सुरु बिस्तार गरिएको उनको भनाई छ ।
जुनारको पकेट क्षेत्र बनाई खेती प्रणालीमा सजिलो होस भनेर उक्त चक्ला बन्दी खेती सुरु गरिएको प्राविधिक पोख्रेलले जानकारी दिए । उनका अनुसार जुनारको चक्लाबन्दी खेती बिस्तारका लागि यो बर्ष २० लाख रुपियाको कार्यक्रम थियो । उक्त कार्यक्रम अन्तर्गत किसानले ५० प्रतिशत अनुदानमा जुनारको बिरुवा लगाएका छन् ।
चक्लाबन्दी खेती अन्तर्गत जेठको अन्तिमबाट किसानले जुनारको बिरुवा रोप्न सुरु गरेको थिए । ‘अहिले जुनारको बिरुवा लगाई सकेपछि किसानहरु भुक्तानीका लागि कार्यालय आई रहेका छन्,’ उनले भने, ‘किसानले प्रतिगोटा ४५ रुपैयाँमा जुनारको बिरुवा पाएका छन् ।’ त्यही बिरुवा अन्यत्र किन्न जाँदा प्रतिगोटा १२५ रुपियासम्म पर्दछ ।
तीनकन्यामा विश्वज्योती जुनार उत्पादन कृषि सहकारी संस्थाले जुनार सुपर जोन कार्यक्रमको समेत आर्थिक सहयोगमा २० हेक्टर जमिनमा जुनारको चक्लाबन्दी खेती गत बर्षदेखि सुरु गरेको छ । सहकारीका अध्यक्ष लोकबहादुर आलेमगरले चक्लाबन्दी खेतीमा ५६ जना किसानहरु सहभागि भएका जानकारी दिए। उनले भने, ‘सरकारले पनि चक्लाबन्दि खेतीलाई प्राथमिकता दिएको छ । त्यसैमा टेकेर हामीले उक्त खेती सुरु गरेका हौं ।’
यसले जुनार खेतीको बिस्तार हुने, खेतीमा व्यवसायिकरण हुने र विभिन्न किसिमको रोग किरा निन्यन्त्रण गर्न एकै ठाँउमा एउटै किसिमको प्रविधि अप्नाउन सजिलो भएको उनको ठम्याई छ ।
जुनार सुपरजोन कार्यालयका प्राविधिक पोख्रेल चक्ला बन्दी खेतीले कुनै निश्चित ठाँउलाई जुनारले मात्रै ढाकेपछि बिषादी छर्किन सजिलो, उत्पादन भएपछि व्यापारीलाई आउन पनि सजिलो हुने बताउँछन् ।
उक्त वडाका अध्यक्ष बेगबहादुर आलेमगर जुनार सुपर जोन कार्यक्रम आएपछि किसानलाई धेरै सजिलो भएको बताउछन् । रोग किरान नियन्त्रण, प्राविधिक कुरा सिक्न किसानले पाएको चर्चा गर्दै उनले भने, ‘चक्ला बन्दी खेतीले किसानलाई झन सजिलो भएको छ ।’
‘किसान आफैले त त्यत्तिकै खेती गरि रहेका थिए भने बिरुवा र खाल्टा खन्दा लागेको लगानीमा आधा पैसा अनुदान पाएका छन्,’ वडा अध्यक्ष मगरले भने, ‘यो वडामा छ सयभन्दा बढी घर धुरीले जुनार खेती गर्दै आएका छन् । बार्षिक दुई करोड रुपियाभन्दा बढी आम्दानी जुनार खेतीबाट वडामा भित्रिदै आएको छ ।’
जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ । गोरखापत्रबाट
क्याटेगोरी :
कृषि,
समाचार,
बाग्मती प्रदेश
ट्याग : #junar,
#plant