Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

संखुवासभा पहिरो : उद्धार टोली अझै घटनास्थल पुग्न सकेन


संखुवासभा, २९ असार र संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा आइतबार बिहान गएको पहिरोमा परेकाहरुको उद्धारको लागि सदरमुकाम खाँदबारीबाट गएको टोली घटनास्थल पुग्न सकेको छैन ।

सदरमुकाम खाँदबारीबाट पैदल हिँडेर एकदिन लाग्ने विकट सिलिचोङ गाउँपालिकासम्म यातायातको सुविधा छैन । ६० जनाको टोली आज सोमबार दिउँसो मात्रै घटनास्थल पुग्ने नेपाली सेनाको बराह दल खाँदबारीका गुल्मपति सुमन श्रेष्ठले जानकारी दिए ।

दिनभर अविरल वर्षाका कारण बाटोका विभिन्न ठाउँहरुमा सानातिना पहिरोहरु झरेको र घटनास्थल समेत टाढा रहेकाले आज दिउँसो मात्रै पुग्ने गुल्मपति श्रेष्ठको भनाइ छ ।

आइतबार दिउँसो १ बजेतिर ताम्कुमा रहेको सेनाको टोली, सिसुवा र ताम्कुमा रहेको प्रहरीको टोली घटनास्थल पुगेका थिए । तर उनीहरु समेत अविरल वर्षाका कारण उद्धारमा खटिन सकेका छैनन् । घटनास्थलमा सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र राईको नेतृत्वमा टोली खटिएको छ ।

त्यसैगरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा पहिरोको उच्च जोखिम भएका ७३ घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । ७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । आइतबार बेसिन्दामा गएको पहिरोले ९ घर बगाएको छ भने अहिलेसम्म ११ जना बेपत्ता छन् । ४ जनाको जीवितै उद्धार गरिएको छ ।


क्याटेगोरी : प्रदेश, कोशी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide

प्रतिक्रिया


ताजा अपडेट