ओलीलाई धाप मारेका मोदी अहिले किन टाढिए ?

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा लामो समय बसिरहन पाउने योजनासहित धाप परेयता केही दिनदेखि तर्किदै गएको देखिएको छ ।
नेपालको मामिलामा ओली मात्रलाई धाप मार्दा त्यसले भारतको आन्तरिक मामिलामा पर्ने असरका बारेमा त्यहाँका पूर्व राजदूतहरूले चासो व्यक्त गरेपछि मोदी टाढिएकोमा कतिपयले चिन्ता गर्न थालेका छन् ।
पछिल्लो पटक ओलीलाई दिलोज्यानले सहयोग गर्न लागि परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि प्रतिनिधिसभा पुनस्र्थापना हुने संकेत आफ्ना निकटका सांसदहरू समक्ष गरेका छन् ।
यसो हुनुमा भारतको भूराजनीतिक अवस्थामा आउने परिवर्तनले पनि मोदीलाई टाढा बनाएको देखिएको छ ।
भारत, पाकिस्तान र अफगानिस्तान बिचको नयाँ सन्तुलन र स्थायित्व खोज्ने प्रयास भइरहेको देखिएको छ ।
जम्मु कास्मिरको हैसियत फेरेर नजरबन्दमा राखेका त्यहाँका नेताहरूसँग २२ महिना पछि जुन २४का दिन नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।
जम्मु कास्मिरलाई दुई क्षेत्रमा विभाजित गरी नयाँ नक्सा जारी गरेयता नेपाल र भारत बिचको तनाव पनि सुरु भएको थियो ।
लिम्पियाधुरा कालापनी र लिपुलेकको नेपाली भूभाग भारतीय नक्सामा गाभेपछिको विवादयता जम्मु कास्मिरका नेताहरूसँग यो पहिलो भेटवार्ता गरेका हुन् ।
यसो हुनुमा भारत र पाकिस्तान बिचको सम्बन्ध सुधार गर्ने प्रयास भइआएको छ । गत फेब्रुअरीयता भारत र पाकिस्तानको नियन्त्रित सीमा रेखामा भिडन्तका कुनै वारदात देखा नपरेको विषयलाई दुई देश बिच भित्र भित्र भइरहेको वार्तासँग जोड्ने गरिएको छ ।
भारत र पाकिस्तानले यसबारे खुलेर नबोले पनि दुई देशका नेताहरू एउटै मञ्चमा देखा पर्दै आएको देखिएको छ ।
मोदीले जम्मु कास्मिरका नेताहरूसँग छलफल गरिरहेका बेला दुशान्बेमा भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वय अजित डोभाल र मोइद युसुफ एउटै मञ्चमा देखिए ।
आउने साता अमेरिकी मध्यस्थतामा अफगानिस्तानमा शान्ति तथा मेलामिलापको लागि अफगानी राष्ट्रपति असरफ गानी र अब्दुला अब्दुला दुवै वासिंटन पुग्ने भएका छन् । अमेरिकाले अफगानिस्तानमा तालिबानसमेतको सहभागितामा शान्ति प्रक्रिया अगाडि बढाइरहेको छ । सोही शान्ति प्रक्रिया अन्तर्गत भारत र पाकिस्तान बिचको सम्बन्ध सुधार गराउने प्रयास अमेरिकाको रहेको छ ।
यसै बिच पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले पनि भारतसँगको सम्बन्ध सुधारको प्रयासको संकेत गरेका छन् ।
कुरेसीले भारत र अफगानिस्तान बिचको सीमा साझेदारी नभएपनि अफगानिस्तानमा भारतको उपस्थिति सोचिए भन्दा ठूलो हुन सक्ने बताए ।
दक्षिण एसियाली देशहरूको सहयोग संगठन सार्कले गतिलिन नसक्नुको मुख्य कारण भारत पाकिस्तान बिचको तनावपूर्ण सम्बन्ध नै रहेको छ ।
मोदीले नेपाललाई कोरोनाभाइरसको खोप उच्च प्राथमिकतामा राखेर पठाएपनि पछिल्लो पटक ढिलाइ गरिरहनुको कारणमा दक्षिण एसियाली क्षेत्रमा भइरहेको भारतको भूराजनीतिक परिवर्तन र ओली मात्रसँग सम्बन्ध विस्तार गर्नु भारतको हितमा नभएको पूर्व राजदूतहरूको सल्लाह मुख्य कारण रहेको निकटवर्ती स्रोतको भनाइ छ ।
सेप्टेम्बर ११ तारिखसम्म अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति पदको शपथ लिएपछि जो बाइडनले घोषणा गरेका थिए । त्यसपछि अफगानिस्तानमा स्थापित हुने शान्तिका लागि सुरक्षा गर्नुपर्ने प्रवन्ध अन्तर्गत भारत , पाकिस्तान र अफगानिस्तान बिचको नयाँ स्थायित्वको प्रयासमा अमेरिका लागि परेको छ ।
त्यसैले भारतले छिमेकीहरूलाई खोप उपलब्ध गराउने प्राथमिकताको सूचीबाट नेपाललाई हटाएको हुन सक्ने कतिपयको भनाइ अन्यथा हुन सक्ने देखिन्छ । भारतका लागि जुलाई अन्त्य वा अगस्टसम्म पर्दा पछाडि भइरहेको कुटनीतिक पहलले ठोस आकार ग्रहण गर्ने र देशमा हर्ड इम्युनिटी प्राप्त हुने अवस्था बन्ने दुवै अवस्था अनुकूल हुने भएको छ ।
नभए ओलीलाई धाप मारेका मोदीले नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले पटक पटक गरेको आग्रह पूरा गर्न र अनुदानमा नभए किन्न खोजेको खोप पठाउन के गाह्रो हुन्थ्यो भन्ने भनाइ असजह भने छैन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया