मर्स्याङ्दी नदीले दुई घर बगायो, माथिल्लो मनाङ जोड्ने पुल जोखिममा

काठमाण्डौ । मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै महत्वपूर्ण माथिल्लो मनाङ जोड्ने तथा सबैभन्दा ठूलो पुल समेत जोखिममा परेको छ ।
मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको हो । असार पहिलो हप्ता सुरु भए लगत्तै मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ ।
बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ । नदीमा पानीको बहाव बढ्दै गएको छ । यसले चामेबजार उच्च जोखिममा परेको छ । जोखिमयुक्त क्षेत्रका स्थानीयबासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।
बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको छ । मनसुन भित्रिए पछि लगातार परेको वर्षाका कारण मर्स्याङ्दीमा आएको बाढीले आजसम्म आठ वटा झोलुंगे पुल बगाइसकेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया