Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशअविरल वर्षासँगै आएको पहिरोले मस्र्याङदी नदी थुनियो

अविरल वर्षासँगै आएको पहिरोले मस्र्याङदी नदी थुनियो


लमजुङ, ५ असार । अविरल वर्षाका कारण हिमाली जिल्ला मनाङको विभिन्न ठाउँमा मस्र्याङदी नदी थुनिएको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकास्थित हुम्डे एयरपोर्ट क्षेत्रको केही माथि, चामे लगायतको क्षेत्रमा मस्र्याङदी थुनिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार हुम्डे क्षेत्रमा नदी थुनिएको जानकारी आएको छ । तल्लो क्षेत्रको चाममो पनि थुनिएको छ । माथिल्लो क्षेत्रमा पहिरोका कारण सडकहरु भासिँदै गएको जानकारी आएको छ । चामे क्षेत्रमा मस्र्याङदी नदीमा पानीको सतह पनि बढिरहेको छ । माथिल्लो क्षेत्रमा थुनिएको नदी खोल्न थालिएकाले तलसम्म आइपुग्दा केही सतह बढी देखिएको बताउनुभयो । पानीको सतहका कारण चामेबाट माथिल्लो क्षेत्र जाने पक्की पुल नै जोखिममा परेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार मस्र्याङदी नदीमा आएको पहिरोले ढलान गरिएको सडकहरु भासिएर गएको छ । एयरपोर्ट माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । मस्र्याङदीले तान्दै लगेपछि हिँड्ने बाटो समेत नभएको र जंगल बाटो हुँदै हिँड्नु परेको बताए । हुम्डे क्षेत्र नै पहिरोका कारण उच्च जोखिममा रहेको बताए ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मस्र्याङदी नदीको बहावमा आंशिक रोकावट भएको बताए । पानीको बहाव बढीरहेकालाई सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न भनिएको छ । हुम्डेमा पहिरोका कारण मस्र्याङदी नदीको बहावमा आंशिक रोकावट र पानीको बहाव पनि बढिरहेकाले जुनसुकै बेला खतरा हुन सक्ने हुँदा सुरक्षित स्थानमा जान भनिएको छ । सुरक्षाका सवै निकायसंग समन्वय गरी खुलाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

सोमबारदेखिको अविरल वर्षाका कारण मनाङको चामेमा नजिकै पनि मस्र्याङ्दी नदी थुनिएको छ । चामे बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मस्र्याङ्दी नदी थुनिएको मनाङ प्रशासनले जनाएको छ । नदी बगेपछि पानीको सतह भने बढिरहेको छ । पानीको सतह बढ्दै जाँदा सिंगो चामेबजार झन् जोखिममा परेको जनाएको छ ।

 


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #flood


तपाईको प्रतिक्रिया दिनुहोस