सप्तकोशीको बाढीले गोबरगाढाका १०० परिवार बिस्थापित

सप्तरी, २७ असार । बिगत दुई दिनदेखिको अबिरल वर्षासँगै सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका १०० परिवार बिस्थापित भएका छन् ।
चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा बाढी पसेपछि घर डुवानमा परेका १०० परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पु¥याइएको छ ।
टप्पु गाउँको नामले चिनिएको गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ पु¥याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिए ।
सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वडा अध्यक्ष यादवले पानीको बहाव निरन्तर बढ्दै गएकाले थप परिवारलाई पनि प्रहरीको सहयोग लिएर डुङ्गामा राखी सुरक्षित स्थानतर्फ लाने तयारी भइरहेको बताए ।
जेनतेन सुरक्षित ठाउँमा आएकाहरु पशुचौपाया पनि जोगाईदिने आग्रह गरिरहेको उहाँको भनाई छ । वर्षा जारि रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । आज दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, मधेस प्रदेश
प्रतिक्रिया