Techie IT
×
गृहपृष्ठसमाचारमहाकाली नदीको बहाव बढ्न थालेपछि कञ्चनपुरमा सतर्कता

महाकाली नदीको बहाव बढ्न थालेपछि कञ्चनपुरमा सतर्कता


कञ्चनपुर, ४ असार । महाकाली नदीको बहाव बढ्न थालेपछि कञ्चनपुरमा सतर्कता अपनाउन थालिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार नदीको बहाव शुक्रबार साँझसम्म सतर्क तहसम्म पुग्न सक्ने सम्‍भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन लगाइएको छ।

बाढी आउन सक्ने जोखिमयुक्त क्षेत्रमा नजान, जोखिम आँकलन गरी सुरक्षित स्थानमा स्थानान्तरण हुनका लागि आग्रह गरिएको अधिकृत भट्टले बताए।

महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको विहान ८ बजेर ३० मिनेटको प्राप्त अपडेटअनुसार महाकाली नदी दार्चुलास्थित दत्तुको बाढीमापन केन्द्रमा जलसतह ५ दशमव ८० मिटर र परिगाउँ डडेल्धुरामा जल सतह ३ दशमलव ५० मिटर पुगेको छ।

नदीको पानीको बहाव चेतावनी तहसम्म पुग्न थालेको छ। पहाडी क्षेत्रमा वर्षा हुने क्रमसमेत जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्र कुनै विपद्का घटना भएमा तत्काल आपतकालीन कार्य सञ्चालक केन्द्रको फोन नं ०९९–५२५२४५, जिल्ला प्रहरी कार्यालयको हटलाइन नं १००, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको फोन नं ०९९–५४०१३३ मा जानकारी गराउनसमेत अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #flood


तपाईको प्रतिक्रिया दिनुहोस