Techie IT
×
गृहपृष्ठराजनीतिलकडाउन बन्यो सत्ता जोगाउने सुरक्षा कवच : नेपाली कांग्रेस

लकडाउन बन्यो सत्ता जोगाउने सुरक्षा कवच : नेपाली कांग्रेस


काठमाण्डौ । सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताका कारण कोभिड–१९ को सङ्क्रमण फैलिएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेको बताए ।

सरकारको यो व्यवहारको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए । उनले भने, ‘लकडाउनको अवस्थामा नागरिकहरू जति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लिइरहनु भाछ । उहाँहरूलाई विरोधमा कोही निस्किन सक्दैन र यसले हाम्रो सत्ता झन् सुरक्षित भयो भन्ने छ ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी प्रस्ताव पेस भएको छ भने पालिकाको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए ।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीमाथि छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए ।

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न भनेको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस