Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशम्याग्दी पहिरो : ज्यान गुमाउनेको संख्या २७ पुग्यो

म्याग्दी पहिरो : ज्यान गुमाउनेको संख्या २७ पुग्यो


म्याग्दी, २८ असार । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ६ को मराङ, मालिका गाउँपालिका ७ को बिम र रघुगङ्गा गाउँपालिका ६ को ठाडाखानीमा शुक्रबार गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

धवलागिरिको मराङका सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षीय प्रकाश केसीको शव भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए।

यसैगरी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उहाँको ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको उनले बताए ।

त्यस्तै मालिकाको बिमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उहाँको ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको शवे भेटिएको प्रहरीले जनाएको ५ । रघुगङ्गाको ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाउँदा मृत अवस्थामा शव भेटिएको उनले बताए ।

मराङको पहिरोमा घाइते भएका १२ जनाको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ । पहिरोमा गम्भीर घाइते मराङका २२ वर्षीया मन्जिता श्रीपाली, ८ वर्षीय सफल श्रीपाली र मालिका गाउँपालिका ७ को बिमका ४० वर्षीय पूर्ण परियारलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको हो ।

मालिका गाउँपालिका ६ को दरबाङका बालसिंह रोकालाई भने थप उपचारको लागि नेपाल मेडिसिटी हस्पिटल काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मराङकै ८७ वर्षीया गौमती सुनार र ६३ वर्षीया सतदेवी बिटालुलाई पनि बेनी अस्पतालबाट पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । मराङका ४३ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, २२ वर्षीय दिपक श्रीपाली, १६ वर्षीय बिर्सना जुग्जाली, १२ वर्षीय अंकित जुग्जाली र ७२ वर्षीय हरिबहादुर बिटालु भने बेनी अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।

मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीन जना जीवितै सम्पर्कमा आएको भए पनि अझै चार जना बेपत्ता भएका छन् । ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका गाउँपालिका ७ बिमका एलिसा केसी र मालिका गाउँपालिका ६ दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका सबैको प्रभु एअरको हेलिकप्टर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि बेनी अस्पतालमा ल्याइएको थियो । घाइतेहरुको टाउको, मेरुदण्ड, हातखुट्टा र शरीरका विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

घटनास्थलमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक कुँवरको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले स्थानीयको सहयोगमा बेपत्ता भएकाको खोज कार्य गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


Leave a Reply

Your email address will not be published. Required fields are marked *