Techie IT
×
गृहपृष्ठसमाचारगाविस अध्यक्षदेखि मन्त्रीसम्म

गाविस अध्यक्षदेखि मन्त्रीसम्म


काठमाण्डौ । साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषदमा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त मन्त्री पहाडी विसं। २०७४ को चुनावमा सिन्धुली–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनी दोस्रो संविधान सभाको चुनावमा पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रूपमा निर्विरोध निर्वाचित भएका थिए ।

पार्टीमा उहाँ विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति सुरु गर्नुभएका पहाडी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चको संयोजकसमेत भए । उनी विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधि सभाको विकास समितिको सदस्य भएका थिए । यसअघि गएको पुसमा प्रधानमन्त्री ओलीले गरेका मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले यो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस