Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

मौसम अनुकूल नहुँदा सगरमाथा आरोहणमा कठिनाई, केही काठमाण्डौ फर्किए


काठमाण्डौं, २४ वैशाख । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौँ आरोही प्रतिक्षारत छन् । तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई हप्तादेखि सगरमाथाको आधार शिविर र आसपासका क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन । आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) गरेपछि मात्रै सगरमाथा आरोहण सुरु हुन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावले एक हप्तादेखि बिग्रिएको मौसम शुक्रवारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि काठमाण्डौसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आए पनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलिरहेको छ । यस क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधारमा आउन नसकेको हो । 'सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र वेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ', उनले भने । अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाण्डौ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन । 'सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, दिउँसोतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ', उनले भने । महाशाखाले हरेक दिन बेलुका सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ । महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाइ अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद् लामिछानेले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट