जाजरकोटको सार्कीटोलमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ११ बेपत्ता

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा गएराति गएको पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षापछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा घटना भएको हो । पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एक जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन ।
वडा अध्यक्ष सृजना बस्नेतका अनुसार पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीय छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन् । त्यस्तै, ३८ वर्षीया कलु सार्कीसहित उहाँका छोरीहरू १४ वर्षीया तिर्खा र ११ वर्षीया कमला तथा छ वर्षका छोरा सुभास बेपत्ता भएका छन् ।
कलु सार्की अर्थात् दिदीको घरमा पाहुना आएका कुशे ९, चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको वडाअध्यक्ष बस्नेतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जनकरान पन्तले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थल पुगर खोजी तथा उद्धार कार्यमा जुटेको बताए । जिल्ला सदरमुकामबाट पैदल दुइ दिन लाग्ने उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सदरमुकामबाट पठाइएको प्रजिअ पन्तको भनाइ छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरोले ठूलो मानवीय क्षति पुगेकोमा दुःख प्रकट गदै सबैलाई धैर्यधारण गर्न र बेपत्ताको खोजीकार्यमा सघाउन आग्रह गरेका छन् ।
क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, समाचार
ट्याग : #hot, #landslide
प्रतिक्रिया