Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशम्याग्दीमा ३२ जनाभन्दा बढी बेपत्ता, यातायात सम्पर्क विच्छेद, उद्दारमा कठिनाई

म्याग्दीमा ३२ जनाभन्दा बढी बेपत्ता, यातायात सम्पर्क विच्छेद, उद्दारमा कठिनाई

एकै परिवारमा कम्तीमा ७ जना बेपत्ता


म्याग्दी, २६ असार । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
धौलागिरि र मालिका गाउँपालिकामा पहिरो जाँदा यत्तिको संख्यामा मानिसहरु बेपत्ता भएका हुन्।

धौलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए । उनका अनुसार पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । पहिरोमा फसेकाको उद्धार पनि हुन सकेको छैन ।

त्यसै गरी मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराए ।

‘बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरीसमेत हामी कोही पनि घटनास्थल पुग्न सकेका छैनौं,’ उनले भने, ‘हेलिकोप्टरको सहयोग मागेका छौं । घटनास्थल पुग्न उपायको खोजी भइरहेको छ ।’

पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको जानकारी रहे पनि खराब मौसमका कारण उद्धारका लागि हेलिकोप्टर उड्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
‘पहिरोले बस्ती पूरै घेरिएकाले प्रहरी र स्थानीय उद्धारकर्तासमेत घटनास्थल पुग्न सकेका छैनन् । बेपत्ता र क्षतिको विवरण फोनको भरमा टिपेका छौं । पुष्टि भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘उद्धारका लागि गृहसँग हेलिकोप्टरको सहयोग मागेका छौं ।’
त्यसै गरी बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #landslide


तपाईको प्रतिक्रिया दिनुहोस