Techie IT
×
गृहपृष्ठप्रदेशभोटेकोशी र सुनकोशीमा भीषण बाढी : बाह्रबीसे, राम्चे, खोर्सानीबारी, लामोसाँघु, खाडीचौर, अमलटार, कोठे, बलेफी उच्च जोखिममा

भोटेकोशी र सुनकोशीमा भीषण बाढी : बाह्रबीसे, राम्चे, खोर्सानीबारी, लामोसाँघु, खाडीचौर, अमलटार, कोठे, बलेफी उच्च जोखिममा


सिन्धुपाल्चोक, २६ असार । दुई दिनदेखिको लगातार वर्षाका कारण भोटेकोशी, सुनकोशी नदीमा भीषण बाढी आएका कारण स्थानीय घर छाडेर खेतबारीमा गएर बस्न थालेका छन् । बाढीका कारण नदी आसपासका गाउँबस्ती उच्च जोखिममा परेका छन् । नदी आसपासका स्थानीय घरबाट सामान झिकेर सुरक्षित स्थानमा जान थालेका छन् ।

भोटेकोशीमा आएको भीषण बाढीले बाह्रबीसे नगरपालिका ३, खोर्सानीबारीमा बाढी बस्तीमा पसेको छ । नगरको वडा नं ४ र ९ का बाह्रबीसे बजार, राम्चे बजार उच्च जोखिममा परेको छ । बजारका घरको जगमा नै बाढी पसेको छ । बाढी घरको आँगनमा नै आएको बाह्रबीसे ९, राम्चे बजारका कमल लामाले गुनासो गरे । बाढीका कारण घर छाडेर अन्यत्र हिँड्नुपरेको उनको दुखेसो छ । हिउँदमा राम्चे बजार संरक्षणका काम नगर्दा बाढी घरभित्र पस्न थालेको स्थानीयले बताएका छन् ।

बर्सेनि बाढीले ती बजारमा वितण्डा मच्चाउँदै आएको स्थानीयले जनाएका छन् । भोटेकोशी र सुनकोशी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्र लामोसाँघु बजार, खाडीचौर बजार, अमलटार, कोठे, बलेफी उच्च जोखिम परेको छ । बलेफी गाउँपालिका ८ का राजु श्रेष्ठका अनुसार लामोसाँघु बजारको १५ घर बग्ने अवस्थामा छन् । बजार संरक्षणका लागि लगाइएका प्लम्ब ढलान, जाली गारो बाढीले बगाएको छ ।

बलेफी गाउँपालिका(७, खाडीचौरका डेढ सय बढी घर सुनकोशी नदीको बाढीले छोएको छ । बजारका नारायणकृष्ण बोहराका अनुसार बाढी बजारका घरका जगमा पस्न थालेको छ । बजारबासी सुरक्षित स्थानतर्फ जान थालेका छन् । निरन्तर परिरहेको वर्षाका कारण नदीको बहाव बढिरहेको छ । नदीमा बाढी बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #hot, #landslide


तपाईको प्रतिक्रिया दिनुहोस