वर्षाले बेहाल : म्याग्दीमा २० जना वेपत्ता, बेलिब्रिज पनि बगायो
बेनी, २६ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ ।
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरका अनुसार धौलागिरी गाउँपालिकाको मराङमा १० जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ ।
त्यसैगरी धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको सूचना प्राप्त भएको डिएसपी कुँबरले बताए । उनका अनुसार घटनास्थल तर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले एकिन पुष्टि हुन बाँकी छ ।
त्यस्तै बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थीत राहुघाट नदिमाथिको बेलीब्रीज राहुघाट नदिले बगाएको छ । वर्षात् पछि उर्लेर आएको नदिले बेलीब्रीज बगाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए ।
अविरल वर्षात्का कारणले गर्दा सञ्चारको माध्यमले समेत राम्रो सँग काम गर्न नसकेकोले थप विवरणहरु आउन कठिन रहेको र सबै क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरि विवरण संकलन र उद्धारमा खटिएको डिएसपी कुँबरले बताए ।
क्याटेगोरी :
प्रदेश,
गण्डकी प्रदेश,
समाचार
ट्याग : #breaking,
#landslide