तिलोत्तमाका स्थानियले गरे सडकमै रोपाइँ

बुटवल, २५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानिय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्ड अन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाईने मौलिक गित (वाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतुहल्ताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।क्रेसर र सिमेण्ट उद्योगमा चल्ने टिप्परहरुका कारण धुँवा–धुलो र ध्वनी प्रदुषणमा बाह्रै महिना बाच्न बाध्य भएका स्थानियहरुले बर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर स्थानिय सरकारलाई सडक मर्मतका लागि दबाव दिएको स्थानिय अभिषेक न्यौपानेले बताए । न्यौपानेले पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधीहरुबाट गुनासो सुनुवाई तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको बताए ।
सडकबाट नगरपालिकाले बर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गरेपनि सडक मर्मतमा खासै चासो नदिंदा सरकार प्रति स्थानियहरु आक्रोसित बनेका छन् । अन्य वार्डहरुबाट भन्दा तिलोत्तमा–१३ र १४ बाट नगरपालिकाको नदिजन्य पदार्थ उत्खनन्बाट बार्षिक करोडौं आन्तरिक आम्दानी हुने गरेता पनि भोट बैंक विकासे नीतिले समस्यामा पार्ने गरेको अर्का स्थानिय निम बहादुर क्षेत्रीले जानकारी गराए । क्षेत्रीले यस क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरे वापत केही प्रतिशत स्थानिय क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भएको सुनेको छु । उक्त नीति कता कसलाई लागेको छ थाहा छैन । शब्दकै विकास हो, या व्यावहारिकतामा पनि आएको छ भन्ने कुरा थाहा नभएको बताए । दिन रात उक्त सडकखण्डबाट कयौं सञ्चारकर्मीहरु हिड्ने गरेता पनि कसैले सडकको विषयमा कुरा नउठाएकोमा दुःख व्यक्त गर्दै क्षेत्रीले सञ्चार क्षेत्रले आँखा चिम्लिएको बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया