Techie IT
×
गृहपृष्ठसमाचारयि चार जिल्ला भए कोरोना मुक्त

यि चार जिल्ला भए कोरोना मुक्त


काठमाडौँ, २३ असार । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६.३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए। आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

सङ्क्रमण दर ओरालो
पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको उनले बताए । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए ।

पिसिआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरु हुनुहुन्न,” उनले भने ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस