काठमाडौ । भारतका माओवादीहरूले भारतको सीआरपीएफको कोबरा बटालियनका एक जवान आफ्नो कब्जामा सुरक्षित रहेको जनाएका छन् ।
गत शतिबार छत्तीसगढ़को सुकमा र बीजापुरको सीमावर्ती क्षेत्रमा भिडन्त भएको थियो । त्यसयता हराइरहेको भनिएको सीआरपीएफको कोबरा बटालियनका एक जवान माओवादीको कब्जामा परेको छ । माओवादीहरूले जवानको रिहाइका लागि सरकारसँग वार्ता गर्न मध्यस्थ नियुक्त गर्न माग गरेका छन् ।
साथै माओवादीहरूले सो भिडन्तमा आफ्ना चार साथी मारिएको पनि जनाएका छन् ।
सीआरपीएफको २१० कोबरा बटालियनका जवान राकेश्वर सिंह मन्हास बेपत्ता भएका छन् । प्रहरीले उनको खोजतलास गरिरहेको बेला माओवादीहरूले एक वक्तव्य जारी गरी ३ अप्रिलमा सुरक्षा बलका दुई हजार जवान हमला गर्न जीरागुडेम गाउँमा पुगेको र यसलाई रोक्न पीएलजीएले हमला गर्दा भएको कारबाहीमा २४ जनाको मृत्यु भएको ३१ जना घाइते भएको मंगलबार जनाएको थियो ।
माओवादीहरूले एक जवान बन्दी बनाइएको अन्य त्यहाँबाट भागेको पनि जनाएका छन् ।
सरकारले मध्यस्थकर्ताको नाम घोषणा गरिएपछि बन्दी बनाइएका जवानलाई सुम्पिदिने माओवादीहरूले बताएका छन् ।
माओवादीको दण्डकारण्य स्पेसल जोनल कमिटीका प्रवक्ता विकल्पका नामबाट दुई पृष्ठ लामो विज्ञप्तिमा चार साथी मारिएको पनि उल्लेख गरिएको छ । मारिएका माओवादीमा ओडी सन्नी ,पदाम लखमा, कोबासी बदरु र नुपा सुरेश छन् ।महिला माओवादी सन्नीको शवलाई लान नसकिएको पनि जनाइएको छ ।
१४ हतियार र दुई हजार भन्दा बढी कारतुस भिडन्तमा कब्जा गरिएको भन्दै माओवादीहरूले जफत गरिएको हतियारको फोटो पनि पठाएका छन् ।
दण्डकारण्य स्पेसल जोनल कमिटी बस्तर क्षेत्रमा सक्रिय छ । यो कमिटी अन्तर्गत झिरम उपत्यकामा गरी ठूल्ठूला घटना गराएको पाइएको छ । झिरम उपत्यकाको घटनामा कांग्रेसका बरिष्ठ नेताको मृत्यु भएको थियो ।
बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक सुंदरराज पीले तीन अप्रिल सुकमा र बीजापुर सीमावर्ती क्षेत्रको जङ्गलमा भएको भिडन्तमा कोबरा बटालियनका जवान राकेश्वर सिंह मन्हासको पत्ता नलागेको जनाएका छन् ।
उनले माओवादीद्वारा कब्जा गरिएको विषयमा पनि जानकारी दिइ सो पत्रको सत्य परीक्षण भइरहेको बताए ।
आदिवासीका लागि काम गर्ने सामाजिक कार्यकर्ता सोनी सोरीले माओवादीहरूलाई जवान रोकेश्वर सिंहलाई मुक्त गर्न आग्रह गरेकी छिन् ।
सिंहका परिवारजनले केन्द्रीय रिजर्भ पुलिस बलसमक्ष उनको मुक्तिका लागि पहल गर्न आग्रह गरेको द वायरले छापेको समाचारमा उल्लेखछ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार
ट्याग : #breaking