Techie IT
×
गृहपृष्ठसमाचारआज पत्रकारको निर्वाचन, कसले बाजी जित्ला ?

आज पत्रकारको निर्वाचन, कसले बाजी जित्ला ?


काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुने यस निर्वाचनमा केन्द्र, प्रदेश र शाखाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

निर्वाचनका लागि बिहान विहान नौ बजेदेखि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । देशभरबाट १३ हजार एक सय ८० मतदाता रहेका छन् ।

अध्यक्ष पदका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल पक्षसहित १० वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् । शर्मा सरकारी पक्षीय  प्रेस चौतारी, पूर्व पञ्च पार्टी निकट मिडिया नेपाल र विप्लव निकट जनपत्रकारसहितको गठबन्धनबाट उम्मेदवार छिन् । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रोशन पुरी, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । त्यस्तै कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस वर्ष प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएकाले महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउँछन् ।

प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ–आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ–आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।

काठमाडौं उपत्यकामा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा मतदान केन्द्र तोकिएको छ ।

एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ स्थानमा मतदान केन्द्र तोकिएको छ ।

प्रतिगामीको विरोध र प्रगतिशील लोकतान्त्रिकको पक्ष भन्दै विपुल पोखरेलको नेतृत्वमा बनाएको गठबन्धनले विजय हासिल गर्ने निश्चित जस्तै छ । यो गठबन्धनमा पाँच हजार भन्दा बढीको मतान्तर रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)