बझाङमा पहिरो : एकै परिवारका चार जनाको शव भेटियो
बझाङ, २० असार । केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।
त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
यसअघि वडा ८ का वडाध्यक्ष गणेश बोहराले पहिरोले पुरेका १७ घरका सात जना बेपत्ता भएको जानकारीमा आएको बताएका थिए । शुक्रबार राति पहिरो आएपछि स्थानीयहरु सुरक्षित ठाउँतर्फ गएको पनि वडाध्यक्ष भण्डारीले बताए ।
स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनास्थलसम्म पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै पाँच घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचाली खोलमा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।
क्याटेगोरी :
प्रदेश,
सुदूरपश्चिम प्रदेश,
समाचार
ट्याग : #breaking,
#landslide