Techie IT
×
गृहपृष्ठसमाचारएमसीसीकोको म्याद थपका लागि गृहकार्य सुरु

एमसीसीकोको म्याद थपका लागि गृहकार्य सुरु


काठमाण्डौ, १६ असार । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को अनुदान सम्झौता कार्यान्वयनको थालनी हुने म्याद थपका लागि गृहकार्य भैरहेको छ ।

आजसम्म सम्झौता अनुमोदन हुने सम्भावना टरेपछि यसको कार्यान्वयनमा जाने म्याद थपबारे पुनर्विचार भैरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जनाएको छ ।

एमसीए नेपालले विज्ञप्ति निकालेर कोभिड–१९ महामारी र संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा भने विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ ।’

एमसीसी कार्यान्वयनका लागि पूर्वनिर्धारित मिति आज मङ्गलबारदेखि तय गरिएको थियो । आजदेखि सम्झौता कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसीए नेपालको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’ एमसीए, एमसीसी सम्झौता कार्यान्वयनका लागि गठन भएको निकाय हो ।

एमसीसीको म्याद थपका विषयमा सरकार र एमसीसीका प्रतिनिधिबीच छलफल भैसकेको छ । एमसीए नेपालले बनाएको योजनाअनुसार एमसीसी सम्झौता गएको वर्ष नै संसदबाट अनुमोदन भएर आजदेखि कार्यान्वयनमा जानुपर्ने थियो । तर दलहरुबीच विवाद हुँदा सम्झौता अनुमोदन हुन सकेको छैन ।

सत्तारुढ दल नेकपाभित्रै एमसीसी सम्झौताको प्रावधानलाई लिएर विवाद छ । संसदबाट अनुमोदन भएपछि मात्रै सम्झौता कार्यान्वयन हुने पूर्वशर्त छ ।

ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल सरकारको कूल ६४ अर्ब रुपैयाँ बराबरको यो परियोजनाका विषयमा सकारात्मक तथा नकारात्मक दुवै कोणबाट टीकाटिप्पणी भइरहेको छ । आयोजनाअन्तर्गत काठमाण्डौको नाङ्लेभारेदेखि बुटवलसम्म निर्माण हुने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै कूल १०० किलोमिटर बराबरको सडक निर्माण हुनेछ ।

आयोजनाको कार्यान्वयनका लागि विभिन्न चरण तथा पूर्वशर्त पूरा भइसकेका छन् । आयोजनाका लागि केही ठाउँमा जग्गाप्राप्ति तथा अन्य कामसमेत सुरु गरिसकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र संसदीय अनुमोदनलगायतका काम भने बाँकी रहेको छ ।

ती काम अगाडि बढेपछि आयोजना कार्यान्वयनमा जानेछ । नेपालको ऊर्जा क्षेत्रका लागि कूल ४०० केभी क्षमताको प्रसारण लाइन असाध्यै महत्वको रहेको र ऊर्जा मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाको समेत प्रमुख हिस्सा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस