Techie IT
×
गृहपृष्ठराजनीतिसंसद विघटन मुद्दामा अर्को सुनुवाई पुस २९ गते

संसद विघटन मुद्दामा अर्को सुनुवाई पुस २९ गते


काठमाडौ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा अर्को सुनुवाई पुस २९ गते हुने भएको छ ।

संवैधानिक इजलासमा भइररहेको सो मुद्दाको आजदेखि सुनुवाई शुरू भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सहितको संवैधानिक इजलासमा सुनुवाई शुरू भएको थियो ।

बहसको क्रममा अधिवक्ताहरूले न्यायाधीश सुनुवाईमा कार्की बस्न नहुने भनेपछि उनले अब संवैधानिक इजलासमा हुने संसद विघटनको सुनुवाईमा आफू नबस्ने घोषणा गरे ।

अब अर्को इजलास गठन हुने भएको छ ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णय विरुद्ध १४ रिट निवेदन सर्वोच्चमा दर्ता भएको थियो । राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले पनि निवेदन दायर गरेका थिए ।

दायर रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही एवं सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

सर्वोच्चमा दायर मुद्दाहरूको सुनुवाईका लागि संवैधानिक इजलासमा पठाइएपछि त्यसको सुनुवाई आजदेखि शुरू भएको थियो ।
बहसको क्रममा “ बहस गर्न र निर्णय सुन्न आपत्ति छैन। तपाईंको क्षमतामाथि पनि प्रश्न छैन। पाँच जनाले मात्र निर्णय गर्नुभन्दा पूर्ण इजलासमा लैजाऔं भन्दै संवैधानिक इजलासको बहसमा गरिरहेका बेला त्रिपाठीले भने “हामीले देखेको कुरा यही हो । हिजो महान्यायाधिवक्ता भएको मानिस इजलासमा बस्नुभएको छ । हिजो केपी ओलीको महान्यायाधिवक्ता हुँदै हरिकृष्ण कार्की न्यायाधीश हुनुभएको हो । ”

कार्कीको विषयमा अन्यत्र पनि विभिन्न प्रश्न उठेको जनाउँदै त्रिपाठीले भारतमा समेत यस्तै विषयमा लामो बहस गरेको बताए ।

त्यसक्रममा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले यो विषय आफूमाथि समेत लागू भएको भन्दै त्रिपाठीको प्रश्नमाथि प्रश्न गरेका थिए । प्रधानन्यायाधीश राणाले भने “ संवैधानिक इजलासमा स्वार्थ बाझिए पनि बस्ने चलन छ। केपी ओलीले नियुक्त गरेको म प्रधानन्यायाधीश हुँ। मेरो हकमा पनि लागू होला नि?”


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस