Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधिसभा पुनर्स्थापनाका लागि इजलासमा बहस गर्दै कानुनविदहरू

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि इजलासमा बहस गर्दै कानुनविदहरू


काठमाडौ । संवैधानिक इजलासमा आजदेखि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि शुरू भएको अन्तिम सुनुवाइमा कानुनविदहरू बहस गरिरहेका छन ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्ण इजलासमा पेश गर्न माग गरेका छन ।श्रेषठले वृहत् पूर्णइजलासमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषयमा पेश गर्नुपर्ने माग गर्दै निवेदन पनि दर्ता गराएका हुन ।

दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्न नसक्ने माग दाबी सहित सर्वोच्चमा एक दर्जन बढी रिट परेका थिए । सबै रिटहरूलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आदेश दिएका थिए । त्यसक्रममा आजदेखि संवैधानिक इजलासमा सुनुवाई शुरू भएको हो ।

यो संवैधानिक इजलासमा प्रधानन्याधीश जबरासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकिएका छन् ।

यो मुद्दामा सर्वोच्चलाई सघाउन गठित एमिकस क्युरीमा सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन ।

अन्तिम सुनुवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग लिखित जवाफ माग गरेको थियो ।

त्यस अनुसार यसअघि नै सबै पक्षबाट जवाफ पठाइएको छ ।

संवैधानिक इजलासले हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकोले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूको बुझाइ छ ।

संसद विघटनसँगै नेपालको सबैभन्दा ठूलो सत्तारूढ पार्टी नेकपा पनि विभाजित अवस्थामा पुगेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा सर्वोच्चका पूर्व न्यायाधीहरू, संविधानविद र कानुनविद र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्रायः जसो आफ्ना अवधारणा सार्वजनिक गरिसकेका छन ।

संविधानमा संसद विघटन गर्न पाउने बाटो नभए पनि प्रधानमन्त्री ओलीले बलपूर्वक संसद विघटन गरेका हुन । यस्तोमा न्यायाधीशहरूको फैसलालाई सबैले प्रतिक्षा गरिरहेका छन ।


क्याटेगोरी : राजनीति, समाचार, संसद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस