Techie IT
×
गृहपृष्ठसमाचारदेउवाकै फर्मुलामा केपीको यात्रा

देउवाकै फर्मुलामा केपीको यात्रा


काठमाडौं । सभापति शेरबहादुर देउवाको भूमिका सन्दिग्ध भएको निश्कर्षमा तत्कालीन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको बहुसंख्यक पार्टी पंक्ति पुगेको छ । सभापति देउवाले प्रतिनिधिसभा विघटनलाई मौन समर्थन गरेपछि शशंकित बनेको इतर पक्षले भावी रणनीति निर्माणका लागि छलफल गरिरहेको छ ।

गत शुक्रबार र शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा इतर पक्षका नेताहरु छलफलमा जुटेका थिए । आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने ?भन्ने सन्दर्भमा इतरपक्षका नेताहरु छलफलमा जुटेकाथिए । प्रतिनिधिसभा पुनर्वहालीका लागि आन्दोलनमा उत्रने बाहेक बैठकले ठोस निश्कर्ष निकाल्न सकेन ।

यता १९ गते आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पनि सभापति देउवाले पुरानै अडान दोहो¥याइरहे । देउवाको अडान थियो, ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरेर सडक आन्दोलन गर्न मिल्दैन ।’ उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरु अनौपचारिक भेटघाट, छलफल तथा कुराकानीका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भनिरहेका छन् । तर, औपचारिक रुपमा भने सभापति देउवाले अघि सारेकै तर्क पुष्टि हुने गरी प्रस्तुत भएका छन् । यसैगरी उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री सुनिल थापा लगायत संस्थापन पक्षका नेताहरु सभापति देउवाको पक्षमा इमान्दारीपूर्वक लागेका छन् ।

२०५९ सालमा तत्कालिन प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा विघटन गर्दा नेपाली कांग्रेसमा जुन खालको धु्रवीकरण भएको थियो, यतिबेला पनि त्यही खालको धु्रवीकरण भएको छ । त्यतिबेला नेपाली कांग्रेसको कोइराला पक्षले चुनाव नगराउने र प्रजातन्त्र मास्ने डिजाइन अन्तर्गत प्रतिनिधिसभा विघटन गरिएको भन्दै पुनर्वहालीका लागि आन्दोलन सुरु गरेको थियो । यता प्रधानमन्त्री देउवा पक्षले भने कुनै पनि हालतमा चुनाव गराएर प्रजातन्त्र बलियो बनाउने उद्देश्यले प्रतिनिधिसभा विघटन गरिएको दावी अघि सारेको थियो । त्यसैको सेरोफेरोमा नेपाली कांग्रेस विभाजन भएको थियो । करिव पाँच महिनापछि षड्यन्त्रको पर्दा उघ्रेको थियो । चुनाव गराउन सरकार असक्षम भएको घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएका थिए । देउवा प्रतिमगनको मतियार भनेको प्रष्ट हुँदाहुँदै पनि देउवालाई साथ दिनेहरुको संख्या नेपाली कांग्रेसमा उल्लेख्य थियो ।

इतिहासको पुरावृत्ति हुँदैन भन्छन । तर, इतिहास नयाँ ढंगले घुम्न पनि सक्ने रहेछ । देउवाको समय र अहिलेको समयमा केही फरक छ । देउवाको पालामा राजतन्त्र अगाडि थियो, अहिले अमेरिकी–भारत सक्रिय देखिएको छ । त्यतिबेला देउवाले प्रजातन्त्र मास्न जे फर्मुला प्रयोग गरेका थिए, सारमा यतिबेलाओलीले त्यही फर्मुला प्रयोग गरेको ठहर कांग्रेसको एउटा पक्षले गरेको छ । रोचक पक्ष के देखिएको छ भने त्यतिबेला देउवाले संसद विघटन गर्दा तत्कालीन प्रतिपक्षी एमालेले साथ दिएको थियो । तत्कालीन एमालेले साथ दिने वातावरण केपी ओलीले नै मिलाइ दिएका थिए । यतिबेला देउवाले ओलीलाई त्यही पैंचोतिर्न खोजेका हुन् या यी दुवै जना एउटै शक्तिकेन्द्रबाट परिचालित छन्? भन्ने भेउ खुल्न सकेको छैन । देउवाले ओलीको यो कदमलाई सहयाग गर्नु अनौठो नभए पनि कांग्रेसमा देउवाको पकड यथावत रहनुलाई भने आश्चर्य मनिएको छ ।

पौडेल पक्षको निश्कर्ष छ, ‘प्रतिनिधि सभा पनि पुनःस्थापना नहुने र निर्वाचन पनि नगरिने स्पष्ट लक्षण देखिइसकेको छ । घोषित मितिमा प्रधानमन्त्री ओलीको टिमले चुनाव गराउनेछैन । दुई साता पुग्नलाग्दासम्म राजपत्रमा निर्वाचन मिति छपाइएन । आधिकारिकताका लागि राजपत्रमा छापिनुपर्ने विषय हो यो । ओलीको निर्वाचन घोषणा राजनीतिलाई थप बराल्ने उपायमात्र हो । कुनै न कुनै अड्गो थापेर चुनावको मिति सारिने पनि निश्चित प्रायः नै छ । कहिलेसम्म चुनाव हुनेछैन अनिश्चित छ । यस्तो कुरा देउवा पक्षमा लागेका नेताहरुले आफ्नै अनुभवका आधारमा पनि हेक्का राख्नुपर्ने हो ।’ रामचन्द्र पौडेल पक्षको चर्काे दवावका कारण नेपाली कांग्रेसले संसद विघटनका विरुद्ध औपचारिकताका लागि आन्दोलनको घोषणा गरेको छ ।

यसैगरी नेकपाकै घटकले प्रदेशहरुमा प्रस्तुत गरेको अविश्वास प्रस्तावप्रति पनि कांग्रेस पर्ख र हेरको मनस्थितिमा छ । सभापति देउवाले अहिलेसम्म प्रदेश समिति समेत गठन गरेका छैनन् । कांग्रेस तटस्थ बस्नासाथ प्रदेश सरकारमा पनि प्रतिगमनलाई साथ दिने मुख्यमन्त्रीहरुले निरन्तरता पाउने अवस्था छ । यसैगरी १० दिनको अन्तर राखेर दुई चरणमा गर्ने भनिएको चुनाव आफैमा शंकास्पद छ । चुनाव गरिएमा सम्पूर्ण राज्ययन्त्रलाई दबाब दिएर धाँधली गर्ने उपाय हो दुई चरण । अलोकतान्त्रिक सरकारले कि चुनाव हुनै दिँदैन नभए चुनावलाई प्रयोग, उपयोग गर्छ । लोकतन्त्रलाई साधन मात्रै नभएर साध्य मान्ने कांग्रेसको नेतृत्व लोकतन्त्रकै विरुद्ध लागेको सन्दर्भमा कांग्रेस विभाजन हुनसक्ने अनुमान पनि गरिएको छ । तर, यो षड्यन्त्रको पर्दाफास हुन कम्तिमा पनि आगामी चैतसम्म पर्खनु पर्ने अवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #deuba, #oli


तपाईको प्रतिक्रिया दिनुहोस