Techie IT
×
गृहपृष्ठराजनीतिकोरोना महामारी र ओली संसद विघटनले कांग्रेस महाधिवेशन लम्बिने

कोरोना महामारी र ओली संसद विघटनले कांग्रेस महाधिवेशन लम्बिने


काठमाडौं । कोरोना वैश्विक महामारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमले नेपाली कांग्रेसको नेतृत्वलाई महाधिवेशन लम्ब्याउन सहज अवसर प्राप्त भएको छ ।

ढिला हुँदै आएको कांग्रेस महाधिवेशन नहुँदा गत वर्षको पुस ११ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विधानअनुसार पार्टी केन्द्रीय समितिको म्याद फागुन १९ देखि सकिने भएपछि एक वर्ष म्याद थप गरेको थियो । सो म्याद अनुसार आगामी फागुन १९ देखि समाप्त हुँदै छ ।फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कांग्रेसको गत वर्ष पुस ११ को निर्णय कार्यान्वयन हुन नसक्ने देखिएको छ ।

कोरोना महामारीका लागि पार्टीले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम पुरा नभएकाले आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता अद्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म सारिएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने अवधि थप गर्ने निर्णय गरे पनि कांग्रेसले महाधिवेशनका लागि बुथ, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय गरी आठ चरणका महाधिवेशनका विषयमा कुनै निर्णय गरेको छैन ।

पार्टी नेताहरूका अनुसार राष्ट्रिय राजनीतिको विद्यमान परिस्थितिमा आन्दोलनमा जानुपर्ने स्थिति बनेको छ । मंसिर मसान्तसम्म क्रियाशील सदस्यता अध्यावधिक गरिसक्ने निर्णय गरेकामा त्यसलाई संशोधन गरी माघ मसान्तभित्र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

एक वर्ष म्याद थपेको कांग्रेसलाई चैत ११ देखि कोरोना महामारीको त्रास रोक्न सरकारले नै लकडाउन गरिदियो ।
०७५ को स्थानीय निर्वाचन अघिदेखि नै कांग्रेसमा विभिन्न दल ‘मर्ज’ भएर आएका नेताहरूको समायोजन गर्ने काम र कार्यविभाजनका कारण पनि पार्टीको महाधिवेशनको प्रक्रिया जटिल भयो ।

यसका लागि कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी समायोजन समिति गठन भएको थियो । अर्का उपसभापति विजय गच्छदार र सहमहामन्त्री प्रकाशशरण महत तथा महेश आचार्य र दीपक गिरी रहेको समितिले पुस १९ गते मात्र प्रतिवेदन बुझायो ।

त्यो प्रतिवेदनपछि पार्टी समायोजन र जिम्मेवारी बाडफाँडको कामले पूर्णता पाएको कांग्रेसले जनाएको छ ।
तर केन्द्रीय सदस्य गगन थापालगायतका केही नेताले आन्दोलनको बहानामा महाधिवेशन सार्न नसकिने बताउन थालेका छन ।

आन्दोलनलाई जुन रुपमा लैजाने अवस्था भएपनि महाधिवेशनको प्रक्रिया रोक्न नहुने र जेठभित्र महाधिवेशन सम्पन्न गर्ने गरी गतिविधि अगाडि बढाउनुपर्ने उनीहरूको भनाइ रहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस