Techie IT
  • १७ कात्तिक २०८१, शनिबार
Jhilko

निरंकुशताका पुजारीहरुलाई बढार्ने प्रचण्डको उद्घोष


१४ पौष, काठमाडौं । विशाल सभाको अन्तिम वक्ता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हामीले नै बनाएको र अगाडि सारेको प्रधानमन्त्रीले ७० वर्षदेखिको जनताको आकांक्षबाट निर्माण गरेको संविधानमाथि धावा बोलेकोले जनतासमक्ष माफी मागेका छन् । आफूलाई उहाँ संघीयताको विरोधी, गणतन्त्र विरोधी, समावेशी सिद्धान्तको विरोधी भएको थाहा हुँदाहुँदै आन्दोलनको आँधी हुरीले ओलीले आफूलाई परिवर्तन गरेको बताएकाले आफूहरुले विश्वास गरेकोमा गल्ती महसुस भएको भन्दै माफी मागेका हुन् ।

प्रचण्डले भनेका छन्– “केपी ओली कम्युनिस्ट आदर्श, विचारबाट स्खलित भइसकेको प्रतिनिधि हुनुहुँदो रहेछ । उहाँले भन्ने गरेको लोकतन्त्र निरंकुश तानाशाह भएको कुरा प्रतिनिधिसभा विघटन गरेबाट प्रमाणित भएको छ । यो देशलाई भड्कालोमा हाल्ने अधिकार उनलाई छैन ।”

विगतमा प्रधानमन्त्रीलाई विशेष अधिकार दिएर प्रतिनिधि सभा भंग गरेको शिक्षाबाट पाठ सिक्दै संविधानमा विभिन्न विकल्प खोज्ने प्रावधान राखिएको स्मरण प्रचण्डले गराएका छन् । “केपी ओलीले सिफारिस गरेको संसद विघटनको प्रावधान संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरिएको छ । केपी ओलीले इतिहासमा कलंकको टिका लगाएका छन् । जबसम्म उनले माफी माग्ने छैनन् तबसम्म इतिहासले उनलाई क्षमा दिने छैन” प्रचण्डको भनाइ रहेको छ ।

यो आन्दोलन भत्केरो मात्र भएको भन्दै जन्ती र बाजा बज्न बाँकी नै भएको प्रचण्डले बताए । तिमीहरुले यो निरंकुशता सच्याएनौं भने निरंकुशताको पुजारीहरुलाई बढार्ने आन्दोलनको आँधीहुरी ल्याउने प्रचण्डले उद्घोष गरेका छन् ।

जनता लक डाउनमा भएको बेलामा जनतालाई राहत होइन पार्टी फुटाउने ध्यानमा लागेको क्रुर व्यक्ति केपी ओली भएको प्रचण्डको आरोप रहेको छ ।

पार्टीको बैठकलाई कहिल्यै सामना गर्न नसक्ने तर पार्टी फुटाउन नेकपा एमाले समेत दर्ता गर्न भ्याएको प्रचण्डले प्रष्ट पारेका छन् ।

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत भएका अध्यक्ष प्रचण्डले केपी ओली श्रृखंलाबद्ध ढंगले कहिले अध्यादेश ल्याउने र पार्टीभित्रका विरोधीहरुलाई सिध्याउने अभियानमा लागिरहेका थिए त्यसैको उत्कर्ष अहिले संसद विघटनसम्म पुगेको दावि रहेका छन् ।

पौष ५ गते संसद विघटन गर्ने दिनमा प्रचण्डले आफूले दुई विकल्पको बारेमा कुरा गर्दागर्दै झालझेल गर्दै आफूसँग कुरा गर्ने समय नै नदिई संसद विघटनमा गएको बताएका छन् । अब सार्वभौम जनताले सार्वभौम अधिकारलाई प्रयोग गरेर यो प्रतिगमन र प्रतिक्रान्तिकारीलाई रोक्ने तागत नेपाली जनतामा मात्र भएको प्रचण्डको उद्घोष रहेको छ ।

हाम्रो ७० वर्षदेखि लडेर ल्याएको अधिकारलाई दुई जना व्यक्ति मिलेर हत्या गर्न मिल्दैन भन्दै जनसमुदायलाई कठोर भन्दा कठोर संघर्षमा जान तयार हुनुपर्ने प्रचण्डले  आव्हान गरेका छन् ।

संसद विघटनको क्याविनेटबाट सिफारिस लिएर राष्ट्रपतिसमक्ष जाँदासम्म पनि आफू कार्यकारी अध्यक्षमाथि जालझेल र झुठो बोलेको जनसमुदायसमक्ष प्रचण्डले प्रष्ट पारेका छन् ।

आगामी दिनमा केपी ओलीको पत्तासाप हुने प्रचण्डको दावि रहेको छ । प्रचण्डले बैशाखमा निर्वाचन हुँदै नहुने अर्काे बैशाखसम्म भए पनि संसद विघटन गर्ने नजिर बस्ने भन्दै यो प्रतिगमन सच्याउन र संविधानको रक्षाको निम्ति लाग्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार ् जनमसुदायलाई अपिल गरेका छन् ।

 

नेकपाको प्रचण्ड–नेपाल समुहद्वारा सप्तरीमा शक्ति प्रदर्शन

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहले आज सप्तरी सदरमुकाम राजविराजमा बिशाल जुलुश प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध आन्दोलनरत नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समुहले केन्द्रीय समितिको सर्कुलर अनुसार सदरमुकाममा बिशाल जुलुश प्रदर्शन गरेका हुन् ।

राजविराजस्थित पार्टी कार्यालय अगाडीबाट निष्केको जुलुश नगरको बिभिन्न भागको परिक्रममा गरी जनआनदोलन चौकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेकपामा नेता कार्यकर्ताहरुले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएको उपलब्धी र संबिधानको रक्षाका लागि सशक्त संघर्ष गर्न तयार रहेको बताएका छन् ।

नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवानले बिदेशी डिजाईनमा प्रतिगामी शक्तिलाई स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक निर्णय सडकबाटै सच्याउने दाबी गर्नुभयो ।

जनभावना बिपरित र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने नियतबाट संसद बिघटन गर्ने कदम चालिएको भन्दै उहाँले प्रधामन्त्री ओलीको कदम बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

सभामा पुर्वमन्त्री उमेश कुमार यादवले जनताले कम्युनिष्ट शक्तिलाई बिश्वास गरेर दुई तिहार बहुमत दिएपनि प्रधानमन्त्री ओलीले त्यसलाई दुरुपयोग गर्दै प्रतिगामी शक्तिका लागि प्रयोग गरेको आरोप लगाउनुभयो ।

सत्ता स्वार्थका लागि अहिले कतिपय नेता कार्यकर्ताहरुले ओलीको असंबैधानिक कदमको समर्थनमा लागेको आरोप लगाउँदै बिगतमा इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताहरुको राजनैतिक रुपमा हत्या गर्ने पृष्ठभुमि भएका पात्रहरु मात्रै अहिले ओली समुहमा लागेको जिकिर गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इञ्चार्ज रामप्रित पासवानले आफ्नो स्वार्थ र अहंकारका कारण प्रधानमन्त्री ओलीले संबिधान बिरोधी कार्य गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक कदम बिरुद्ध आफुहरु प्रतिबद्धत भएर आन्दोलनमा जुटेको बताउनुभयो ।

जनताको भावनासँग खेलवाड गर्ने अधिकार कसैसँग नभएको दाबी गर्दै प्रधानमन्त्रीको कदमले प्र्रतिगामी शक्तिलाई बल पुगेकोले यसका बिरुद्ध आन्दोलनमा होमिन सबैसँग आग्रह गर्नुभयो ।

नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल(अमर) को अध्यक्षतामा सभामा नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले जनताको बलमा प्राप्त भएको संघीयता, समाबेशीता र धर्मनिरीपेक्षता जस्ता उपलब्धीलाई समाप्त पार्न संबिधानमाथि सरकारबाट हमला भएको आरोप लगाउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज निरञ्जन झाद्वारा सञ्चालित सभामा नेकपामा प्रदेश समिति सदस्य अरुण कुमार साह, लक्ष्मी चौधरी, महेश कुमार यादव, प्रदेशसभा सदस्य रुवी कर्ण लगायतले बोल्नुभयो ।

 


क्याटेगोरी : Breaking, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट