Techie IT
  • २०८० फागुन ११, शुक्रबार

१ वर्षमा ७० हजारभन्दा धेरै नेपाली स्थायी बसोबासका लागि विदेशिए


काठमाडौं । गएको वर्ष नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसोबासका लागि विदेशिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा अध्यागमन विभागले यो जानकारी दिएको हो ।

विभागका विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना भित्रिएका बताए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको बताए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका जानकारी दिए ।

महानिर्देशक तामाङले यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश नभएको बताए । सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ । महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ समाल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताए । अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको विभागको तथ्याङ्क छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट