दाङ, १० असार । घोराहीको मुख्य सडकको कालोपत्र उप्किएर जीर्ण बनेपछि ट्राफिक प्रहरीले सडकमा खाडलहरु पुर्न थालेको छ । वर्षातको समयमा जीर्ण सडकले दुर्घटना बढाउने भएपछि ट्राफिक प्रहरीले सडकका खाडलहरु पुर्न थालेको हो ।
घोराही–तुलसीपुर सडक खण्डका विभिन्न ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाडलहरु परेपछि हुन सक्ने दुर्घटनाको उच्च जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले खाडलहरु पुर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसँस्थाको समन्वयमा सडकमा परेका खाडलहरु पुर्ने अभियान सुरु गरेको हो । अभियान अन्तर्गत घोराही तुलसीपुर चोक, डिके पेट्रोल पम्प, सेवारखोला, गर्जेखाला, संक्रम खोला लगायतका ठाउँमा खाडल पुर्ने काम भइरहेको छ ।
खाडल परेका सडकहरुमा ग्राबेल गरेर सडक मिलाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । प्रमुख रेग्मीका अनुसार घोराही र तुलसीपुर बजारसँगै घोराही–तुलसीपुर सडक खण्डका थुप्रै ठाउँमा रहेका यस्ता खाडलहरु पुर्ने काम भइरहेको छ ।
बिग्रिएको सडक बनाउने काम सडक कार्यालयसँगै सम्बन्धित पालिकाहरुको भए पनि ती निकायहरुले नगर्दा ट्राफिक प्रहरी आफैंले गर्नुपरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए ।
‘वर्षातको समयमा पानी पर्दा खाडल र सडकको सतह एकै देखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने गर्छ’ उनले भने, ‘खाडलकै कारण दुर्घटना नहोस् भनेर पुर्न थालेका हौं ।’
ट्राफिक प्रहरी कार्यालयले थालेको सडकका खाडल पुर्ने काममा घोराही उप–महानगरपालिका, फोरलेन सडक बिस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनी, टिप्पर व्यवसायीहरूले साथ दिएका थिए । ट्राफिक प्रहरीको आग्रहमा फोरलेन सडक बिस्तार आयोजनाले ग्राबेल उपलब्ध गराइदिएको हो ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार