Techie IT
  • २०८० फागुन ११, शुक्रबार

नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । आज आइतवार अफगानिस्तानसँगको खेलमा नेपाल ७३ रनले पराजित भयो ।

अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि राम्रो अङ्कमा रन जोड्न सकेनन् । नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बोहरा १५, दिपेश कँडेल ११, सुवाश भण्डारी ८, उत्तम मगर ४ तथा विपिन रावल, आकाश त्रिपाठी र हेमन्त धामी शून्य रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका फरिदून दवूदजाई र नसिर खानले समान ३ तथा मोहम्मद युनुसले २ विकेट लिए ।

यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अब नेपालले पर्सि मङ्गलवार भारतसँग खेल्नेछ ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट