Techie IT
  • २०८० फागुन ११, शुक्रबार

पशुपतिमा बालाचतुर्दशी पर्वका लागि तयारी पूरा


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतवार रातिदेखि शुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाएर संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने ठाउँमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।’

यसैगरी मृगस्थलीभित्र मृग राखेको ठाउँमा पनि शतबीज छर्ने परम्परा भएकाले मृगस्थली प्रवेश गर्ने द्वारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने कोषले जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन आग्रह गरेको छ । यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।

जाँडरक्सी बिक्री वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँठाउँमा सीसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताउनुभयो । यसैगरी पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि शुरु हुने बालाचतुर्दशी पर्वमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

पर्सि सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखेर बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा जाँडरक्सी खान र किनबेच गर्न रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव खत्रीले बताए ।

उनले भने, ‘बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा जाँडरक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

यसैगरी बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्करूपमा टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले बताए । उनले भने, ‘बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।–रासस

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट