गृहपृष्ठ ∕
समाचार ∕
प्रदेश २ को स्थानीय तहहरुमा जनप्रतिनिधिहरुबीच बिवाद चुलिदै
प्रदेश २ को स्थानीय तहहरुमा जनप्रतिनिधिहरुबीच बिवाद चुलिदै
जनकपुर, ९ असार । बजेटको बिषयलाई लिएर पछिल्लो समय प्रदेश २ का स्थानीय तहमा जनप्रतिनिधिहरु बीच बिवाद बढ्दै गएको छ । कहि योजना छनौटमा त कहि आफुहरुलाई पाखा लगाएको भन्दै जनप्रतिनिधिहरुबीच बिवाद चुलिदै गएको छ । बिवाद बढ्दै गएपछि कतिपय स्थानीय तहहरु असार मसान्तका बेला विकास निर्माणका काम प्रभाबित भएका छन् भने कतिपय स्थानीयहरुका जनप्रतिनिधिका कुटाकुटकै अवस्थामा पुगेका छन् । जनताको मत लिएर जनताको हितमा काम गर्ने ठाउँमा पुगेका जनप्रतिनिधिहरु बजेटकै बिषयमा बिवादमा फस्दै गएपछि जनताहरु निराश बनेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका । जनकपुर उपमहानगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख लालकिशोर साहले दमन गरी हस्ताक्षर गराउन खोजेको भन्दै वडाअध्यक्षहरु बिरोध प्रदर्शनमा उत्रेका छन् ।नगरप्रमुखले एक्लौटी रुपमा तयार पारेको नीति तथा कार्यक्रमको म्यान्युटमा हस्ताक्षर गर्न दबाब दिएको र केही वडाअध्यक्षमाथि कुटपिट समेत भएको भन्दै वडाअध्यक्षहरु बिरोध प्रदर्शनमा उत्रेका हुन् । नगरप्रमुख साह बिरुद्ध उत्रिएका आफुहरुलाई उपमहानगरपालिका कार्यालयभित्रै थुनिएको वडाअध्यक्षहरुले बताएका छन् । नगरप्रमुखको दबाबमा भएको निर्णयप्रति बिरोध जनाएका आफुहरुलाई थुनेरै हस्ताक्षर गराउन खोजिएको असन्तुष्ट वडाअध्यक्षहरुले आरोप लगाएका छन् । उपमहानगरपालिकाको आर्थिक बर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम तयार पार्न बोलाईएको बोर्ड बैठकमा नगरप्रमुख साहले हस्ताक्षर गर्न दबाब दिएपछि बहुमत वडाअध्यक्षहरुले प्रतिबाद गरेका थिए । सोही क्रममा बिवाद हुदाँ केही वडाअध्यक्षहरुमाथि कुटपिट समेत भएको थियो । गेटभित्र थुनिएका वडाध्यक्षसहितका प्रतिनिधिहरुले नगर प्रमुखविरुद्ध नाराबाजी गरिरहेका छन् । उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले नगर प्रमुखको आदेशमा गेटमा ताला लगाएर आफूहरुलाई बन्धक बनाएको आरोप लगाएका छन् । नगर प्रमुखले लोकतन्त्रविरुद्ध काम गरेको भन्दै बैठकमा आफूहरुमाथि हातपात समेत भएको वडाअध्यक्ष साहले बताए । वडाअध्यक्षहरू जानकीराम साह, दिपेन्द्र साह जगदिस महासेठ, सुदर्शन सिंहमाथि नगरप्रमुखले प्रहरी लगाएर कुटेको समेत जानकारी दिएका छन् ।
यस्तै धनुषाको मिथिला नगरपालिकाको कार्यपालिका बैठकमा नगरप्रमुख र उपप्रमुखबीच विवाद चुलिदै गएको छ । नगरसभाको तयारीको विषमया कार्यपलिका बैठकमा प्रमुख हरिनारायण महतो र उपप्रमुख ताराकुमारी वस्नेतबीच झण्डै हातहालाको स्थिति पुगेको छ । योजना अनुगमनमा भत्ता नभएको कारण उपप्रमुख वस्नेतले सम्पन्न योजनाको फाइलमा हस्ताक्षर नगरेको विषयमा विवाद सृजना भएको थियो । त्यस क्रममा उपप्रमुख वस्नेतले प्रमुख महतोलाई ‘फटहा’ भनेपछि दुबैबिच चर्काचर्की भएको बैठकमा सहभागि एक वडाध्यक्षले बताएका छन् । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले गाउँपालिकाका अध्यक्ष सतिश सिंहकै मिलोमतोमा ठुलो अनियमिता भएको भन्दै छानबिन गर्न माग गरेका थिए । पटक पटक गाउँपालिकाका अध्यक्ष सिंह र उपाध्यक्ष यादवबीच बिवाद बढ्दै गएपछि असारको अन्तिम समयमा सम्पन्न हुनुपर्ने कतिपय योजनाको काम प्रभाबित भईरहेको कर्मचारीहरुले बताएका छन् ।
क्याटेगोरी :
समाचार